स्वास्थ्य

बाँकेमा २ सय शैय्या थप गर्ने निर्णय ,सातको मृत्यु

बाँकेमा २ सय शैय्या थप गर्ने निर्णय ,सातको मृत्यु

बाँके

बाँकेको नेपालगञ्जमा नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचार व्यवस्थित बनाउन २ सय शैय्या थप गर्ने निर्णय भएको छ । हिजो भएको निर्णय कार्यान्वयनका लागि आजदेखि तदारुक्ताका साथ काम सुरु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा शैय्या थप गर्ने, उपचारमा खटिने जनशक्ति प्रदेश र सङ्घ सरकारसँग माग गर्ने अनि आवश्यक पर्ने रकम जोहो गर्ने निर्णय भएको छ । हाललाई खुला कारागारको भवनमा आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भेरी अस्पतालमा यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि १ सय ४२ शैय्या रहेकोमा २ सय पु¥उने र मेडिकल कलेजमा १ सय शैय्या रहेकोमा बढाएर २ सय बनाउन पहल थालिएको छ । त्यसैगरि बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ । 
तुलसीपुर ः दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । 
उहाँलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उहाँमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
 

विशेष