नेपाल सुपर लिगमा आजबाट दोस्रो चरणका खेल हुँदै
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणको खेल समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो । गत शनिबारबाट सुरु भएको प्रतियोगिता तेस्रो दिन चितवनले आफ्नो पहिलो खेलमा ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । अन्य टोलीले पहिलो चरणको खेल समाप्त गर्दा ललितपुरले भने दोस्रो चरणको खेल सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले पराजित ललितपुर दोस्रो खेलमा अङ्क बाड्न बाध्य भयो । पहिलो चरणको खेल सकिदा विराटनगर सिटी शीर्ष स्थानमा रहेको छ । पेपरमा बलियो मानिएको धनगढी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि दाबेदार रहेको प्रमाण पेश गरेको छ ।
दोस्रो स्थानमा बुटबल लुम्बिनी एफसी रहेको छ । पोखरा थण्डर्सलाई २–० गोल अन्तरले पराजित गरेको बुटबल समान अङ्क भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । यस्तै काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । विराटनगर, बुटबल र काठमाडौं समान ३ अङ्क भएपनि गोल अन्तरका आधारमा क्रमशः तीन टोली पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका हुन् । एक खेल खेलको चितवन चौथो स्थानमा रहँदा दुई खेल खेलको ललितपुर पाचौं स्थानमा रहेको छ । अङ्क जोड्न नसकेका पोखरा र धनगढी क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् । लिगमा आजबाट दोस्रो चरणको खेल सुरु हुँदैछ । आजको खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।