के हो रेम्डेसिभर? कोरोना उपचारमा कति उपयुक्त?
नेपालमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा बिरामीका आफन्तले रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीका लागि रगत खोज्ने क्रम पनि बढिरहेको देखिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमै पनि दिनहुँजसो मानिसहरूले रेम्डेसिभिर र रगतको उपलब्धताबारे सहयोग माग्ने गरेका छन् । माग बढेसँगै व्यापारीहरूले रेम्डेसिभिरको मूल्य बढाएको गुनासोबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार रेम्डेसिभिरको काठमाण्डूस्थित आधिकारिक आयातकर्ताको सम्पर्क र मूल्यसहित एउटा सूचना नै जारी गर्नुपयो । मन्त्रालयले प्रतिभाएल रेम्डेसिभिरको ४,९०० रुपैयाँ तोकेको छ ।
औषधि लिन जान व्यक्तिले आफ्नो परिचयपत्रको प्रमाणसहित बिरामी रहेको अस्पताल तथा चिकित्सकको प्रेस्किप्शन देखाएर खरिद गर्न सक्ने उक्त सूचनामा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले अस्पतालमा भर्ना भएका बिरामीको हकमा रेम्डेसिभिरको सशर्त प्रयोगको सिफारिस गरेको छ ।
रेम्डेसिभिरले कोभिड–१९ का बिरामीमा जीवन रक्षा गर्न सघाउने अन्य परिणाम दिने पुष्टि गर्न अहिले प्रमाण उपलब्ध नरहेकको डब्ल्यूएचओले जनाएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनासाथ र कुनै लक्षण नदेखिए पनि बिरामीलाई रेम्डेसिभिर दिइहाल्नपर्ने औषधि नभएको पल्मोनरी एन्ड क्रिटिकल केअरसम्बन्धी विज्ञ प्राध्यापक डा. अर्जुन कार्की बताउँछन् । “अक्सिजनको मात्रा नै घटेर नाकबाट अक्सिजन दिनुपर्ने चरणमा पुगेपछि रेम्डेसिभिर दिने हो । रोग गम्भीर अवस्थामा पुगिसकेपछि यसको धेरै प्रभावकारिता देखिएको छैन ।” डा. कार्कीले थपे । कोभिड हुनासाथ सबै बिरामीलाई यो लगाइहाल्नुपर्छ र यो लगाउने बित्तिकै सब ठिक हुन्छ भन्ने बुझाइ सत्य होइन । लक्षणसहित सङ्क्रमण देखिएका केही सीमित व्यक्तिमा रेम्डेसिभिरको केही फाइदा देखिएको आईसीयू फिजिसियन डा. हेमराज पनेरू बताउँछन् । उनि भन्छन्, “सङ्क्रमित भएको हप्ता अथवा दश दिनपछि भेन्टिलेटरमा राखिएका विरामीलाई दिँदा त्यो पनि प्रभावकारी देखिएको छैन। कोभिड हुनासाथ जसरी माग हुन थालेको छ त्यस्तो हुनुपर्ने होइन ।”
कोभिड–१९ का बिरामीलाई रेम्डेसिभिरको सट्टा डेक्सामिथासोन प्रयोग हुने भए पनि यो महामारीमा त्यसले त्यति चर्चा नपाएको सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बताउँछन् ।
“शरीरमा अक्सिजनको मात्रा कम भएपछि डेक्सामिथासोनको प्रयोग गर्न सकिन्छ। यो सस्तो र सुलभ पनि छ। यो त झ्याली पिटेसरी भन्नुपयो,” उनी भन्छन् ।
रेम्डेसिभिर औषधि प्लाज्मा थेरापी कोरोना भाइरस