‘डिजिटल इन्डिया’ अभियान मार्फत सूचना र प्रविधिमा अभूतपूर्व प्रगति गर्दै भारत
अर्थतन्त्र र शक्ति निर्माणमा तिव्र विकास गरिरहेको भारतले सूचना र प्रविधिका क्षेत्रमा अकल्पनीय प्रगति गरेको छ। कुनै वेला विश्वमा सूचना प्रविधिमा पछाडि रहेको भनिएको भारत आजभोली डिजिटल प्रविधिको प्रयोगमा अग्रणी देशमा पर्न थालेको छ।
केही समयअघि भारत भ्रमणमा रहेका माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले पनि भारतको डिजिटल स्वरूप बदलिएको बताएका थिए । भारतले प्रविधिको सदुपयोग तीव्र गतिमा अगाडि वढाएको भन्दै उनले समाज र ज्ञानमा आधारित अर्थतन्त्रलाई बदल्ने कोसिस गरिरहेको बताएका थिए।
जी–२० प्रतिनिधिको टोलीले पनि भारतलाई ‘डिजिटल प्रविधिको अग्रणी’ भनेको छ। भारत भ्रमणमा आएको टोलीले डिजिटल परिवर्तनको सराहना गर्दै राजस्थानको उदयपुरस्थित शिल्पग्राममा राजस्थानी हस्तकलाका वस्तु खरिद गर्न युपिआईको उपयोग गरेको थियो । प्रतिनिधि टोलीका एक सदस्य रासा खालि बिन अफतानले सबै देशले भारत र यसको उच्च प्रविधि सिक्न जरुरी भएको बताएका थिए ।
ग्रामीण क्षेत्रलाई द्रुत गतिको इन्टरनेट सञ्जालसँग जोड्दै देशमा डिजिटल साक्षरता र प्रयोगमा व्यापक सुधार ल्याउने उदेश्यले भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ जुलाई १ मा डिजिटल इन्डिया अभियान सार्वजनिक गरेका थिए ।
प्रत्येक नागरिकका लागि उपयोगिताका रूपमा डिजिटल पूर्वाधार ढाँचा, मागमा शासन र सेवा तथा डिजिटल सशक्तीकरण गरी अभियान विशेष रूपमा तीन क्षेत्रमा केन्द्रित थियो । डिजिटल इन्डियाका नौवटा स्तम्भ छन ।
ब्रोडब्यान्ड हाइवे, मोबाइल केनेक्टिभिटीसम्म आमनागरिकको पहुँच, सार्वजनिक इन्टरनेट पहुँच कार्यक्रम, ई–सरकार ः प्रविधिमार्फत सरकारमा सुधार, ई–क्रान्ति ः सेवाको इलेक्ट्रिक डेलिभरी, सबैका लागि सूचना, इलेक्ट्रोनिक्स निर्माण, जागिरका लागि आइटी र प्रारम्भिक बाली कार्यक्रम डिजिटल इण्डियाका स्तम्भ हुन।
यी प्रत्येक क्षेत्र विभिन्न मन्त्रालयसँग जोडिएका छन । डिजिटल इन्डियाअन्तर्गत महत्वपूर्ण कदममा डिजिटल कर, ई–स्वास्थ्य अभियान, ई–शिक्षा अभियान, ई–क्रान्ति (सेवाको इलेक्ट्रोनिक डेलिभरी) भीम ः युपिआई पोर्टल र ई–अस्पताल आदि सामेल छन ।
भारतका ८४ करोड जनता इन्टरनेटसँग जोडिएको र एक अर्बभन्दा बढी जनसंख्या मोबाइल फोन प्रयोगकर्ता रहेको बताइएको छ । यसमा झन्डै ६० करोड मानिसले स्मार्टफोन प्रयोग गरिरहेका छन।
भारतको डिजिटल अर्थव्यवस्थाको वर्ष सन् २०२५ सम्म एक ट्रिलियन डलर पार गर्ने सम्भावना रहेको बताइएको छ । ई–सरकारसँग सम्बन्धित इलेक्ट्रोनिक कारोबारमा तीव्र वृद्धि भएको छ । भारत नेट कार्यक्रमअन्तर्गत करिब तीन लाख किलोमिटरको अप्टिकल फाइबर नेटले १.१५ लाखभन्दा बढी गाउँलाई एकआपसमा जोडेको छ ।
गाउँदेखि सहरसम्म, साना खुद्रा व्यापारीदेखि ठुल्ठूला व्यावसायिक संस्थान सबैले युपिआईको प्रयोग गरिरहेका छन । वस्तु खरिद–बिक्रीमा पनि क्युआर प्रयोग गरिरहेका छन । यसले भारतलाई डिजिटल इन्डियामा बदलिरहेको छ ।