फोटो

मनोनयनमै १५ लाखको रक्सी खुवाउने मनाङेको चुनावी खर्च २३ हजार मात्र!

मनोनयनमै १५ लाखको रक्सी खुवाउने मनाङेको चुनावी खर्च २३ हजार मात्र!

मंसिर ४ गतेको निर्वाचनमा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेपछि प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई निर्वाचन आयोगले २५ हजार जरिवाना गर्यो। 

निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च थोरै भएको भन्दै आलोचना गर्दा उनी जरिवानमा परे। ‘मनोनयन दर्ता गर्न जाँदा १५ लाखको रक्सि खान्छन’ भन्दै प्रतिक्रिया दिएपछि उनलाई निर्वाचन आचारसंहित उलंघन गरेको आरोपमा जरिवाना तिराईयो।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने वताएपछि आयोगले ०७९ कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो। मनाङेले चित्तवुझ्दो जवाफ निदिएपछि उनलाई जरिवाना तिराउने निर्णय भएको आयोगका अधिकारीले वताए।

यता, मनोनयनमै १५ लाखको रक्सी खुवाउने तिनै मनाङेले २३ हजार खर्चमै चुनवा जितेको दावी गरेका छन्। 

निर्वाचन आयोगले मनाङ प्रदेशसभा निर्वाचनको लागि एउटा उम्मेदवारले २३ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो। निर्वाचन आयोगलाई सोमबार उनले वुझाएको चुनावी खर्चमा जम्मा २३ हजार खर्च भएको विवरण उल्लेख छ।

मनाङले आयोगलाई बुझाएको तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको विवरण अनुसार उम्मेदवारी दर्ताको क्रममा उनको ५ हजार रुपैयाँ खर्च भएको छ भने गोष्ठी–अन्तरक्रियामा खाना–खाजामा उनले जम्मा १८ हजार रुपैयाँ खर्च गरेका छन्।

आयोगलाई उनले ती दुबै शीर्षकको नगदी रसिद तथा सक्कल बिल पेश गरेको जानकारी गराएका छन्। चुनावताका गण्डकीका युवा तथा खेलकुदमन्त्री रहेका मनाङले बुझाएको चुनावी खर्च विवरण सम्भवतः देशकै सबैभन्दा कम हो।

तर, उनको चुनावी खर्चमा उनले चढेको गाडि, त्यसमा लागेको पेट्रोल/डिजलको खर्चसम्म उल्लेख गरिएको छैन। यो विवरण सार्वजनिक भएपछि सर्वसाधारणसम्मले जिव्रो टोक्न थालेका छन्।  

दीपक मनाङे

विशेष