पर्यटन

पूजा, खुसी, प्रकृति एकै ठाउँः चन्द्रागिरी हिल्स (भिडियोसहित)

पूजा, खुसी, प्रकृति एकै ठाउँः चन्द्रागिरी हिल्स (भिडियोसहित)
[caption id="attachment_30677" align="aligncenter" width="950"]chandragiri-hill-nepalaaja-1 फोटो: मिलन गुरागाईं/नेपाल आज[/caption]

असोज–१५ । शनिबारदेखि यसवर्षको दसैं पनि शुरु भएको छ । दसैंकाे बिदामा घुमफिर गर्ने चलन नेपालीहरुमा पनि बढ्दो छ । यस अवसरमा उपत्यकामै बस्नेहरुका लागि नजिकैको सस्तो र रमणीय स्थान कुन हुन सक्ला ? यस्ता गन्तव्य धेरै छन् । त्यस्ता गन्तव्यमा एउटा अहिले थपिएको छ । थपिएको गन्तब्य हो चन्द्रागिरी हिल्स ।

पुथ्वीनारायण शाहले चन्द्रागिरीबाट पहिलोपटक काठमाडौं देखेका थिए–भन्ने गरिन्छ । उपत्यका कब्जा गर्ने तृष्णा उनलाई चन्द्रागिरीबाट नै पलाएको थियो । चन्द्रगिरी पहाडबारे धेरैले स्वस्थानी व्रत कथामा सुने/पढेका छन् कि यो त्यही ठाउँ हो, जहाँ सतिदेवीको अंग पतन भएको थियो ।

अहिले चन्द्रगिरि पहाडको टाकुरामा पुग्न सजिलो छ । थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पोमा पुग्न सकिन्छ । चन्द्रागिरी डाँडामा बसेर अनेक दृश्य हेर्दै अनेक मौसमको अनुभव लिन सकिन्छ ।

चन्द्रागिरी डाँडा बिना मनाउन, कामको तनाव कम गर्न, रमाइलो गर्न, फरक परिवेशमा रिफ्रेस महशुस गर्न पनि मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् । चन्द्रागिरी डाँडामा पुगेपछि त्यहाको प्राकृतिक सुन्दरताबाट मोहित नहुने सायदै कोही मान्छे हुन्छ ।

चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर परिसरमा भेटिएकी काठमाडौं बनस्थली घर भएकी मुना बज्रचार्यले भनिन् ‘धेरै सुन्दर ठाउँ रहेछ । जति मान्छेहरुले भन्ने गर्थे त्यो भन्दा बढी नै राम्रो लाग्यो । ’ चन्द्रागिरी घुम्नकै लागि मुना आफ्ना अन्य १८ साथीहरुसँग चन्द्रागिरी पुगेकी थिइन् ।

उनीहरुले काठमाडौंको कोलाहलबाट निस्किएर छोटो समयमै परिवारका साथ रमाउन चन्द्रागिरी उपयुक्त गन्तव्य भएको बताए । उनीहरु मात्रै होइन, चन्द्रगिरी डाँडामा भेटिएका अधिकांशको भनाइ यस्तै सुनिन्छ ।

उक्त मन्दिर परिसरमा काठमाडाैं नारायाणथानका ८५ र ८० वर्षका एक वृद्ध जोडी आफ्नो छोरासँंगै भेटिए । उनीहरु भने, ‘ठाउ धेरै राम्रो छ । फेरि आउने धोको छ । यहाँ आएपछि मन शान्त भयो । अर्कै दूनियाँमा आए झै भयो । स्वर्ग नै जस्तो ।’  चन्द्रागिरीमा पुग्ने सबैजसो उमेरका मानिसहरु धेरै रमाएको पाइयो । उमेरअनुसारको रमाइलो गर्ने सुविधा उपलब्ध छ ।

चन्द्रागिरीबाट सगरमाथा


[caption id="attachment_30686" align="aligncenter" width="750"]chandragiri-hill-nepalaaja-2 फोटो: मिलन गुरागाईं/नेपाल आज[/caption]

चन्द्रागिरीको चुचुरोबाट सर्वोच्च शिखर सगरमाथासमेत अवलोकन गर्न सकिन्छ । त्यतिमात्रै होइन, नेपालका अधिकांश हिमालहरु यहाँबाट देख्न सकिन्छ । जहाँबाट वारपार सुन्दर हिमालका लहरहरु हेर्न सकिन्छ ।

छिनछिनमै बदलिरहने मौसमका कारण पहाडमा ठोकिन आइपुग्ने सेतो बादलको बीचबाट केबलकारमार्फत चन्द्रागिरी पुग्दा स्वाभाविक रुपमा सबैलाई आनन्द महशुस हुन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य हो । हिमाल छिचोलेर उदाउने सूर्योदय र पश्चिम पहाडमा डुब्ने सूर्यास्तको दृश्य चन्द्रागिरीबाट रोमाञ्चक देखिन्छ ।

हिमाल, बादल, हरियाली, प्राकृतिक चिसो र उपत्यका तथा दक्षिण भेगमा रहेका साना गाउँवस्तीहरुको मनोरम दृश्यवलोकनमा रमाउनेहरुका लागि यो एउटा स्वर्गको टुक्रा भन्दा कम लाग्दैन ।

यस्तै सौन्दर्यको खानी भएको कारणले चन्द्रागिरीमा केबलकार चढेर जानेहरुको बिहानैदेखि भीड लाग्छ । केवलकार सञ्चालन भएदेखि नै भालेश्वर महादेवको मन्दिर दर्शन गर्ने र त्यहाँको प्राकृतिक सौन्दर्यसँग रमाउनेहरुको नयाँ गन्तव्य बनेको छ ।

इतिहासको महत्वपुर्ण स्थान


नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट काठमाडौं हेरेको र यहाँबाट देखिएको दृश्यले काठमाडौं जित्ने अठोट गरेको भन्ने इतिहासमा पढ्न पाइन्छ । त्यसैले इतिहास बुझ्नको लागि पनि चन्द्रागिरी महत्वपूर्ण स्थान हो ।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट गोरखा फर्कंदा चन्द्रागिरी हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशमा उल्लेख छ । त्यही स्थानमा नै भालेस्वरको मन्दिर स्थापना गरिएको छ ।

धार्मिक स्थलको रुपमा विकास


[caption id="attachment_30692" align="aligncenter" width="750"]chandragiri-hill-nepalaaja-3 फोटो: मिलन गुरागाईं/नेपाल आज[/caption]

चन्द्रागिरी हिल्स प्रालिले सञ्चालन गरेको केबलकार चढेर दिनहुँ चन्द्रागिरीमा भालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बाक्लिन थालेको छ ।

मन्दिरमा लाइन लागेर पूजा गर्न भक्तजनहरु उभिएका हुन्छन् । पुजा गर्नकै लागि घण्टौ लाइन देख्दा चन्द्रागिरी धार्मिक स्थलको रुपमा विकास हुँदैछ भन्ने बुझ्न सकिन्छ ।

महादेवले सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको बताइन्छ । निधार पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख छ । यो मन्दिरमा दर्शन गर्दा मनले चिताएका सबै पूरा हुने धार्मिक विश्वास छ ।

 खर्च


[caption id="attachment_30703" align="aligncenter" width="750"]chandragiri-hill-nepalaaja-sanjay-jha-5 फोटो: गगन थापा/नेपाल आज[/caption]

चन्द्रागिरीको केबलकारमा आउने–जाने यात्रा गर्दा ७ सय रुपैयाँ भाडा लाग्छ । आइडी कार्ड भएका विद्यार्थी, थानकोटका स्थानीय बासिन्दा, ३ फिटभन्दा होचा बालबालिका र अपांगहरुलाई विशेष छुटको प्रवन्ध गरिएको छ ।

पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारियर सञ्चालन गरिएको सुरुक्षा प्रमुख तथा मानव स्रोत संशाधक सन्जय झाले नेपाल आजलाइ बताए । ३८ वटा केवलकारले दिनमा झण्डै १० हजार पर्यटकलाई चुचुरोमा र्पुयाउने र फिर्ता गर्ने क्षमता राख्छन् ।

‘काठमाडौंभित्रैबाट केबलकार चढेर धार्मिकरुपले विशेष महत्व राख्ने मन्दिरसम्म आउनु आफैंमा अनुपम छ । झनै चन्द्रागिरीको चुचुरोबाट अभूतपूर्व प्राकृतिक सौन्दर्यतलाई नियाल्न पाइने भएकाले धेरैले यसलाई नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्वीकारेर यहाँ आइरहनुभएको छ’ झाले बताए ।

खाना


[caption id="attachment_30702" align="aligncenter" width="750"]chandragiri-hill-nepalaaja-4 फोटो: गगन थापा/नेपाल आज[/caption]

 चन्द्रागिरी डाडाँमा भ्यु टावर निर्माणको काम अन्तिम चरणमा छ । तर, पनि उच्च ठाउँ भएकाले दृश्यावलोकनका लागि टावर नै भने चढ्नुपर्ने अवस्था छैन ।

चन्द्रागिरी पुगेर मन्दिर दर्शन गर्ने तथा दृश्यावलोकनमा रमाउनेहरुलाई खाना र खाजाको उच्चस्तरको प्रवन्ध गरिएको छ । ग्राहकको अर्डर अनुसार सबै किसिमका परिकारहरु मन्दिर परिसरमा सञ्चालन गरिएको होटलमा उपलब्ध छ । चिसो मौसममा स्वादिष्ट परिकारका साथ रमाउन चाहानेहरुका लागि पनि यो राम्रो गन्तव्य हो ।

अभिभावकका साथ पुग्ने बालकालिकालाई रमाउन चिल्ड्रेन पार्कको पनि व्यवस्था छ । चन्द्रागिरीमा उच्च स्तरको सभाहल पनि निर्माण भइसकेको छ । यहाँ सभा, सेमिनार र गोष्ठी लगायत कार्यक्रमहरु पनि गर्न सकिन्छ । यस्तै चन्द्रागिरीमै रिसोर्ट निर्माणको काम पनि तीव्र गतिमा चलिरहेको छ ।

पर्यटकहरुको गुनासो


प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको चन्द्रागिरीमा सेवा सुविधा पनि उच्च स्तरको रहेको छ । कतिपय पर्यटकहरुले केवलकारको भाडा महंगो भएको बताउँछन् । त्यस्तै खाना तथा खाजा पनि महंगो भएको गुनासो छ । कतीपय पर्यटकहरु महंगो हुनु स्वाभाविक रहेको बताउँछन् । प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै अग्लो उचाइमा खाना पाउनु भाग्य रहेको उनीहरुको तर्क छ । भन्छन ‘त्यतिमाथि सामान लैजान महंगो हुन्छ स्वतः खाना महंगो हुन्छ । ठाउँअनुसार त अलिअलि महंगो त भैहाल्छ नी । ’

पर्यटकहरुको गुनासो तथा सुझाब लेख्ने कर्मचारीहरुको चन्द्रागिरीमा राखिएको छ । उनीहरुले पर्यटकहरुले टिपाउने गुनासो र सुझाब टिप्छन । उक्त गुनासोलाई उनीहरुले छलफल गरेर परिवर्तन समेत गर्न सकिने उनीहरुले जानकारी दिए । प्रस्तुतिः सागर बुढाथोकी


https://youtu.be/K8j-KTZN45k
https://youtu.be/O7bmY76ARgE
 

chandragiri hills must visit place in kathmandu thankot cable car

विशेष