अपराध सुरक्षा

रोजगारीका लागि दुबई जाँदै हुनुहुन्छ ? कम्तिमा यी दलालबाट चाहिँ जोगिनुहोला ! (नेपाल आजको स्टिङ अपरेसन)

रोजगारीका लागि दुबई जाँदै हुनुहुन्छ ? कम्तिमा यी दलालबाट चाहिँ जोगिनुहोला ! (नेपाल आजको स्टिङ अपरेसन)

 

असोज १९ ।

सेवाग्राहीः सर, नेपालमा बेरोजगार भइयो, विदेश पठाइदिनु पर्यो ।

दीपक कार्कीः कहाँ जाने ? दुवई जाने हो ?

सेवाग्राहीः खै थाहा छैन, बुझ्दै छु । कता ठीक हुन्छ ।

दीपक कार्कीः दुवई जाने हो भने शुरुमा ५० हजार दिनु । पछि भिसा आएपछि २ देखि ३ लाख दिनु पर्छ ।

सेवाग्राहीः दुवई जान पनि ३ लाख लाग्छ ?

दीपक कार्कीः मेन पावरबाट जाने भन्दा राम्रो काम र पैसा धेरै कमाइ हुन्छ । अनि एअरपोर्टमा पनि सेटिङ मिलाउनु पर्छ । त्यही भएर पैसा अलि बढी लाग्छ ।

यो कुराकानी काठमाडौंको सिनामंगलस्थित ईस्टर्न ट्राभल्स एजेन्सीका सञ्चालक दीपक कार्की र नेपाल आजका पत्रकार सागर बुढाथोकीबीच भएको हो । दीपक कार्कीमाथि नेपाल आजले गरेको स्टिङ अपरेसनका क्रममा उनको गैरकानुनी धन्दा पर्दाफास भएको छ ।

कार्कीले ट्राभल्स एजेन्सीको आवरणमा गैरकानुनी रुपले म्यानपावर सञ्चालन गर्दै आएको धेरै गुनासाहरु प्राप्त भएका थिए । सो सम्बन्धमा शुरुमा कार्कीलाई टेलिफोन सम्पर्क गरेर बुझ्ने प्रयास गरिएको थियो । त्यसबेला उनले आफूले कुनै पनि प्रकारको म्यानपावरको काम नगर्ने जवाफ दिएका थिए । उनले विशुद्ध ट्राभल एजेन्सीको काम गर्ने बताएका थिए ।

तर, मंगलबार नेपालआजका पत्रकार सागर बुढाथोकी सेवाग्राहीको रुपमा कार्कीको ट्राभल एजेन्सीमा प्रवेश गरे । पत्रकार बुढाथोकी ट्राभल एजेन्सीभित्र प्रवेश गरेपछि त्यहाँभित्रको रहस्य यसरी उद्घाटन भयो । ....................................

bidesh-graud-nepalaaja-01

तस्विर: बायाँबाट सिर्जना थापा, दिपक कार्की र जीवन दास


- उक्त ट्राभल्स एजेन्सीको ठगीको धेरै तथ्य फेला परेपछि म सिनामंगलतिर इस्टर्न ट्राभल्स खोज्दै गएँ । - सिनामंगलमा पुगेर दीपक कार्कीलाई फोन गरेँ ।

‘सिनामंगल चोकबाट एयरपोर्ट जाने बाटोको अलि अगाडिबाट तलतिर झर्नु, त्यहाँ हाम्रो अफिसको बोर्ड देखिन्छ दोस्रो तलामा आउनु ।’ -फोनबाट निर्देशन आयो ।

उक्त अफिसको पहिलो तलामा मिमोसा म्यानपावर कम्पनी रहेछ । म सरासर माथि चढेको देखेर त्यो म्यानपावरको कर्मचारीले रुखो आवाजमा भने, - ‘कहाँ जान लागेको ?’

मैलै छोटो उत्तर दिए - ‘ दीपक सरको अफिस ’

फेरि पनि उस्तै रुखो स्वरमा उनले भने, -  ‘सोधी खोजी नगरी सिधै जाने हो । सोध्नुपर्छ नी ? ’

म केही नबोली सरासर माथि दीपक कार्कीको अफिसमा गएँ ।

कार्कीको अफिसमा एकजना महिला बसिरहकी थिइन । ल्यापटप चलाइरेकी उनले ल्यापटप चलाउन छोडेर अगाडि बस्न आग्रह गरिन् । कोठा साधारण थियो । भित्ताको रंगहरु खुइलिइसकेको फुस्रा देखिन्थे । बस्ने सोफाका कभरहरु ठाउँ-ठाउँमा च्यातिएर झुत्रो भएको थियो ।

ती महिलाले सोधिन्, - ‘के को लागि आउनु भएको ? मैले भने ‘बिदेस जान बुझ्न आएको । ’

ती महिलाले भनिन्,-  ‘भाइ यहाँ त टिकट काट्ने मात्रै काम हुन्छ । ट्राभल्स कम्पनी हो ।’ उनले त्यो अड्डाको देखाउने दाँत मुस्कान दिएर देखाइन् ।

मैले साँचो कुरा भनिदिएँ - ‘तलबाट दीपकसरको अफिसमा जानु भनेर पठाउनुभएको ।’

त्यसपछि ती महिलाले हाँस्दै भनिन् - ‘ए हो र ! कुन देश जान लाग्नु भएको हामी पनि ट्राभल्स भिसामा पठाउँछौ ।'

'दुवई जाने हो ?’ एकछिन राेकिएर फेरि भनिन् ।

उनको स्वर अस्वाभाविक रुपमा बदलियो । अघिसम्म टिकट मात्रै काट्ने भनेको मान्छेले अहिले विदेश पठाउने कुरा खोलिन् । थप धेरै रहस्यमय र ठगीका अनेक प्रपञ्च खुल्न शुरुमात्रै भएको थियो त्यो ।

मैले सोझो पारामा भने - ‘म त घुम्न जान लागेको होइन । काम गर्न पैसा कमाउन जान लागेकाे हो । घुम्न जानको लागि त पैसा छैन । पैसाको अभावले गर्दा नै जान लागेको ।’

'कति पढ्नु भाको छ भाइ ?'

उनले सोध्न नपाइ मैले भने ‘पढ्न सकिएन । प्लस टु नै पटक पटक फेल भइयो । नपढेका मान्छेकाे नेपालमा काम रैनछ । वर्ष भरि काम गर्यो । खल्ती रित्तो हुन्छ । काम न दामको भर बस्नु भन्दा यसो मिलेदेखि जाउँ भनेर आ’को ।’

त्यसपछि ती महिलाले सबै कुराको बेलिविस्तार लगाउदै भनिन् - ‘हामीले ट्राभल्स भिसा बनाएर तपाइलाई तीन महिने प्याकेजमा पठाउँछौ । उता गएपछि एयरपोर्टमा तपाईलाइ हाम्रो मान्छेले रिसिभ गर्छ ।'

'अहिले साउदी कतार दुवईमा भिसा पाउन गाह्राे छ । त्यसैले छिटाे जानेलाई भिजिट भिसा नै राम्राे हुन्छ ।' उनले विश्वास दिलाउन खाेजिन् ।

'एकमहिना जतिमा तपाइलाई हाम्रो मान्छेले काम लगाइदिइ सक्छ । अनि तपाइँले काम गर्ने कम्पनीले तीन महिना भित्रमा वर्किङ भिसा बनाइदिन्छ ।’ उनले विश्वस्त पार्दै भनिन् ।

'म पनि विश्वस्त भएँ ।' ट्राभल्स एजेन्टका रुपमा काम गरेको देखाउने तर भित्रभित्रै नेपाली युवासँग मोटो रकम लिने र विदेश पठाएर विचल्ली पार्ने गिरोहको अखडामा पुगेको महशुस भयो ।

मैले जिज्ञासा थपेँ, ‘म्यानपावर कम्पनीबाट जानु र यसमा के फरक छ र ?'

त्यसपछि उनले लोभ देखाउदै भनिन् ‘म्यानपावरबाट जानुभन्दा यहाँबाट गयो भने राम्रो काम पाइन्छ । कमाइ पनि म्यानपावरबाट जानु भन्दा धेरै हुन्छ । सबै कुरामा सुविधा हुन्छ । उताको सय रुपैयाँ त यता कति धेरै हुन्छ । विदेश गएर राम्रो काम पाएर धेरै कमाउनु भन्दा ठूलो सुविधा अरु के हुन्छ र ?’ उनले प्रतिप्रश्न गरिन् ।

अनी मैले जिज्ञासा राखे ‘तीन महिनासम्ममा काम नपाएर भिसाको डेट सकिएर पुलिसले पक्र्यो भने ?' यो प्रश्नले उनको अनुहार कालो भयो ।

एक बेरोजगार युवाको प्रश्न दबाउँन उनले ठूलो स्वरमा भनिन्, ‘मैले अघि नै भने नी केही गाह्राे हुँदैन । हामीले कति धेरैलाइ पठाइसकेका छौं । उनीहरुले खाएर बसेर ५० हजारभन्दा बढी बचाएका छन् । तपाईं त यो उमेरमा पनि डराउनुहुँदो रैछ । डरार पनि पैसा कमाइ हुन्छ त ?' उनले मेरो बहादुरी परीक्षण गरेझै प्रश्न गरिन् ।

bidesh-graud-nepalaaja

तस्विर: अबैध ट्राभल एजेन्सी मार्फत म्यानपावरको धन्दा चलाउने संचालक दिपक कार्की


त्यसपछि मैले जान लाग्ने खर्चको बारेमा सोधे ।

खर्चको बारेमा ती महिलाले भनिन् ‘शुरुमा ५० हजार डिपोजिट छोड्नुस । भिसा आएपछि काम र कमाइको अनुसार २ देखि ३ लाख लाग्न सक्छ । एयरपोर्टमा तलदेखि माथिसम्म सेटिङ नमिलाइकन जान दिदैनँ ।’ उनले विदेशमा पक्का पुर्याइदिने तरिकाले निर्धक्क भएर रहस्य खोलिन् ।

‘एयरपोर्टमा किन सेटिङ मिलाउने होला ?’ मलाई जान्न मन लाग्यो ।

‘तपाईलाइ थाहा छैन एयरपोर्ट सेटिङ भनेको ? उनले उल्टै प्रश्न गरिन् ।

‘कहिले बिदेस नगएको फ्रेस हुनुहुँदोरैछ , त्यही भएर थाहा नभाको’ उनले स्वाभाविक उत्तर दिइन् ।

‘सरकारले भिजिट भिसामा नेपालीलाई जान रोक लगाको छ । हल्का सेटिङ नमिलाइ जान दिँदैन । त्यसैले त अलि धेरै पैसा लागेको हो । एयरपोर्ट देखि विदेशको एजेन्टलाइ पैसा नखुवाइ तपाईहरुले राम्रो काम पाउनुहुन्न् । त्यही भएर पैसा धेरै लाग्छ । ’ उनले एयरपोर्ट सेटिङको रहस्य खोलिन् ।

त्यति नै बेला दीपक कार्की आइपुगे । फोन गर्ने म भनेर उनले चिनिहाले ।

उनले महिला तर्फ हेर्दै साेधे - ' भाइसँग कुरा भयो ?'

ती महिलाले जवाफ दिइन ‘अँ हुदैछ धेरै कुरा भनिसकेँ, उहाँ अलि दोधारमा हुनुहुन्छ जस्तो छ ।’

'चिन्ता लिनुपर्दैन भाइ एकदम राम्रो हुन्छ । तिमी जाने हो भने दसैं सकिने बित्तिकै उड्न पाउँछौ । कति धेरै यहीँबाट गएर काम गरिरहेका छन् । केही हुँदैन  त्यसको जिम्मा म लिउँला । ’उनले विश्वस्त पार्दै मलाइ भने ।

त्यसपछि उनले फोनमा ठूलो स्वरमा कुरा गर्न थाले, ‘अरे कति भन्नु तपाईलाई, भन्ने बित्तिकै कहाँ सजिलो हुन्छ । गरिराको छु त , पख्नुस न दुई चार दिन ।’ यतिभनेर उनले फोन काटिदिए ।

म केही दिनमा ५० हजार लिएर आउँछु भन्दै त्यहाँबाट निस्किए ।

‘चाँडो आउनुस् है धेरै कोटा छैन, राम्रो कोटा अर्कैैलाइ पर्छ ।’ उनीहरुले लोभ देखाए ।

‘हुन्छ’ भन्दै म बाहिर निस्केँ ।

मसंँग कुरा गर्ने सिर्जना थापा दीपक कार्कीकी श्रीमती रहिछन् । श्रीमान श्रीमती मिलेर उनीहरुले अवैध धन्दा गरेको रहस्य उनीहरु आफैंले खोलिदिए ।

bidesh-graud-nepalaaja-03

ईस्टर्न कम्पनीको प्यान नम्बर फर्किदा मैले नियालेको थिएँ । उक्त प्यान नम्बर ३००९७८२६५ इस्टर्न कम्पनी दर्ता भएको देखिएन । यो कुराले इस्टर्न कम्पनी अबैध रुपमा सञ्चालन भएर अबैध धन्दा गरेको स्पष्ट भयो ।

सरकारले साउदी, कतार, बहराइन दुवइ मलेसिया जस्ता देशमा फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेको छ । तर, नेपालमा एजेन्टहरुले विभिन्न सेटिङ गरेर अबैध रुपमा विदेश पठाउने गरेको रहस्य यो घटनाबाट पनि पुष्टि हुन्छ । जसको कारण खाडी मुलुकमा धेरै नेपालीहरु बिचल्लीमा परेका छन् ।

विदेशमा के गर्छन कामदार ?


jeevan-das-nepalaaj-01

इस्टर्न  ट्राभल्स एण्ड टुर्सबाट भिजिट भिसामा जाने नेपालीहरु विदेशमा दुःख पाएको बताएका छन । इस्टर्नको एजेन्ट जीवन दासले दुवई एयरपोर्टमा आएर यताबाट जाने कामदारलाइ रिसिभ गर्छन् । एयरपोर्टबाट अजमान स्टेटमा लगेर राख्ने गरेको त्यहाँ अबैध रुपमा गएका एक कामदारले बताएका छन् ।

उनीहरुका अनुसार दुवईको अजमान स्टेटको एउटा कोठामा लगेर मान्छेलाई खसी बाख्रा झै गरि राखिन्छ । जहाँ एउटै कोठामा ३० देखि ४० जना नेपालीहरु कोचिएर बसेका छन् । उनीहरुले भनेजस्तो काम पाएका छैनन । बिचल्ली परेर पैसा तथा जीन्दगी नै डुबेको गुनासो गरेर उनीहरुले दिन काटिरहेका छन् ।

दुवईमा कोठामा कोचिएर बस्ने नेपालीहरुका अनुसार त्यहाँ उनीहरुलाइ राम्रोसँंग खान पनि दिएको छैन । बस्न पनि अफ्ठ्यारो छ । भिसाको डेट सकिएकाले उनीहरु त्यहाँ अबैध छन् । बाहिर हिड्दा पुलिसले पक्रिने डरले उनीहरु डरले भित्रै बस्न बाध्य छन् । इस्र्टनको एजेन्टले छिट्टै काम दिलाउछु भनेपनि उनीहरु बिचल्लीमा परिरहेका छन् ।

काठमाडौको सिनामंगलमा बाहिर एउटा काम भित्र अवैध रुपमा युवा विदेश पठाउने गिरोहलाई मेरो सामान्य प्रयासमै फेला पार्न सकेँ । यो देशमा त यस्ता बदमासहरुलाई तह लगाउन ठूलो संयन्त्र नै छ । ठूलो संयन्त्र भएर पनि यस्ता विकृति नियन्त्रण भएका छैनन् । यो घटना अघि यस्तो लाग्थ्यो कि सरकारको आँखा छलेर बदमासहरुले धन्दा चलाउँछन्, अहिले लागिरहेको छ सरकारको सहयोगमा बदमासहरुले धन्दा चलाउँदा रहेछन् ।


 

bidesh pathaune dalal Dubai manpower nepalaaja quatar Stor by sagar budhathoki रोजगारीका लागि दुबई जाँदै हुनुहुन्छ ?

विशेष