अपराध सुरक्षा

पीडितले उजुरी लिएर आउन्, दीपक भन्ने दलाललाई कारबाही गर्छौं –प्रहरी

पीडितले उजुरी लिएर आउन्, दीपक भन्ने दलाललाई कारबाही गर्छौं –प्रहरी

dalal-nepalaaja-02


कात्तिक ३ । सोझा सिधा युवालाई रोजगारीको आश देखाएर पर्यटक भिसामा दुवई पठाउने र बिचल्लीमा पार्ने दीपक कार्कीलाई सजिलै कारबाही गर्न सकिने प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं अपराध महाशाखाका वैदेशिक रोजगार सम्बन्धी मामिला हेर्ने पिल्लर नम्बर ९ का डिएसपी होमेन्द्र बोगटीले नेपाल आजसँग भने, ‘पर्यटक बनाएर दुवई पठाउने, अनि तीन महिना अलपत्र बनाएर राख्ने अनि फर्काउने गिरोह नै सक्रिय छ ।’

डिएसपी बोगटीले सिनामंगलस्थित इस्टर्न ट्राभल्स एण्ड टुर्सको आवरणमा युवाहरुलाई पर्यटक भिसामा विदेश पठाउने दलाल दीपक कार्कीबारे पनि आफूले सुनेको बताए । उनले भने, ‘त्यो कार्कीबाट ठगीएकाहरु सम्पर्क उजुरी लिएर आए भने तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउनेछौं ।’

पर्यटक भिसामा विदेश जाने अनि काम पाइएन भनेर उजुरी गर्न आउने ? भनेर प्रहरीले उल्टै पीडितलाई केरकार गर्छ भन्ने सुनिन्छ नी भन्ने प्रश्नमा डिएसपी बोगटीले भने, ‘पर्यटक भएर जाने अनि अहिले जागिर पाइएन भन्नु कानुनी हिसाबले अमिल्दो हुन्छ । तर पर्यटक बनाएर कामदार पठाउने गिरोहको गतिविधि ठूलो कुरा हो । जुनसुकै बहानाबाट ठगीएकाहरुलाई पनि हामी केरकार गर्दैनौं । दलालबाट ठगिएकाहरुले यहाँ आएर उजुरी दिन सक्छन् ।’

उजुरी पछि आवरणमा ट्राभल्स एजेन्सी चलाउने भित्रभित्रै म्यानपावरको अवैध धन्दा चलाउने दीपक कार्की जस्ता एजेन्टलाई पक्राउ गर्न सकिने उनले बताए ।

ट्राभल्स एजेन्सीको आवरणमा अवैध धन्दा चलाउने दीपक कार्कीलाई नेपाल आजले केही दिन अघि स्टिङ अपरेसनमा पारेको थियो । स्टिङ अपरेसनका क्रममा कार्कीले टुरिस्ट भिसामै विदेश पठाउने, उतै काम लगाइदिने बताएका छन् । उनका सबै करतुत उनी आफैले ओकलेका छन् । उनले बोलेको अडियो रेकर्ड नेपाल आजले सार्वजनिक गरिसकेको छ ।

कार्कीले दुवईमा जीवन दास भनिने जीवन परियारलाई आफ्नो एजेन्ट बनाएका छन् । दीपकले जीवनलाई मान्छे पठाउने गर्छन । जीवनले दुवईमा युवाहरु राख्न एउटा घर भाडामा लिएका छन् । जहाँ एउटै कोठामा धेरै युवाहरुलाई भेडाबाख्रा झै राखिन्छ । तीन महिने पर्यटक भिसामा जाने युवाहरु त्यहा पुगेर कम तलव हुने चानचुन काम गर्न थाल्छन् । केही भने फर्कने गरेका छन् ।

यो काम गरेबापत दीपक कार्कीले नेपालमै ग्राहक अनुसार पैसा माग्छन् । दुवईमा पुगेपछि उनका एजेन्ट जीवनले पनि युवाहरुसँग काम खोजिदिएको भन्दै पैसा लिन्छन् ।

यो प्रकरणमा प्रहरीले दीपक कार्कीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसका लागि पीडितले जाहेरी दिनु पर्ने प्रहरीको भनाइ छ । कार्कीको करततु पर्दाफास भएपछि अहिले उनी अर्धभूमिगत जस्तो अवस्थामा रहेको बताइन्छ । उनका दुवईमा रहेका एजेन्ट जीवन दास पनि अहिले नेपाल नै आएका छन् । कार्कीबाट पीडित भएकाहरु नेपालआजको सम्पर्कमा पनि आउन थालेका छन् ।


र योपनि,

► दलालको चंगुलमा फसेर दुबई पुगेका युवाहरुको बिचल्ली, यातना सहेर बस्न बाध्य

विशेष