'नेपालको पर्यटन क्षेत्रमा जापानको सहयोग निरन्तर' - राजदूत ओगावा
कात्तिक ४ । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको पर्यटनलगायतका क्षेत्रमा जापान सरकारकातर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
राजदूत ओगावाको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा उनले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउन र अन्य विकास निर्माणका कार्यमा सक्दो सहयोग जुटाउन प्रयास गर्ने बताए ।
नेपाल–जापानबिच लामो समयदेखि दौत्य सम्बन्ध रहँदै आएको स्मरण गर्दै उनले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै सुदृढ भएर जाने बताएका हुन् ।
पोखरा प्राकृतिक रुपमा अत्यन्त सुन्दर स्थल भएको बताउँदै राजदूत ओगावाले भने ‘पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीचको भगिनी सम्बन्धलाई जनस्तरमा पुर्याउन पहल गर्नेछु ।’
जापानी राजदूत ओगावालाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले भूकम्पका कारण खस्किएको नेपालको पर्यटनलाई पुनर्जीवन दिन आगामी दिनमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आउने वातावरण तयार गरिदिन आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक पालिखेले जापान सरकारको सहयोगमा निर्माण हुन लागेको पोखराको खानेपानी शुद्धीकरण तथा विस्तार परियोजनाअन्तर्गत मर्दीमा रहेको पानीको मुहान चार किलोमिटर माथि सार्न सके मुहानमा हुने मानवीय अतिक्रमण कम गर्न सकिने धारणा राखे ।
japan nepal ka rajdut
nepalko bikashka lagi japanle sahayog garxa