पर्यटन

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो
कात्तिक ५ । विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पुर्याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको होटेलका सञ्चालकहरू बताउँछन् । pokhara पोखराको पर्यटनको मुख्य याम अक्टोबर र नोभेम्बर महिना भए पनि यस याममा अपेक्षित विदेशी पर्यटक पोखरामा नआएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुलीले बताए । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटन यस वर्ष सुधार हुने अपेक्षा भए पनि अपेक्षअनुसार पर्यटकको आगमन हुन नसकेको उनले बताए। पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटक आउने क्रम भने बढिरहेको बताउँदै पराजुलीले दसैँ पछिको केही दिन भने आन्तरिक पर्यटकका कारण पोखराका होटेल भरिभराउ भएको जानकारी दिए। भूकम्पअघि नेपालमा वार्षिक आठ लाखको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको भएपनि गत वर्ष लगभग पाँच लाखको सङ्ख्यामा विदेशी पर्यटक आएको पराजुलीको भनाइ छ । 'नेपालमा दुई छिमेकी राष्ट्र भारत र चीनबाट पर्यटकलाई नेपालमा ल्याउन सक्नुपर्छ,'उनले भने, 'भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको ‘चलिए पोखरा’ कार्यक्रम जस्तै चिनियाँ पर्यटकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।' नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । पोखरामा लगभग रु एक खर्बभन्दा बढी लगानी गरेर पर्यटकलाई लक्षित गरी बनाइएका सुविधासम्पन्न होटेलको सङ्ख्या चार सयभन्दा बढी छ जसमध्ये दुई पाँचतारे र १२ तीनतारे होटल रहेका छन् । अक्टोबरदेखि डिसेम्बरको मध्यसम्म पोखराको पर्यटनको महत्वपूर्ण याम रहेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले विशेषगरी यस समयमा युरोपेली राष्ट्रका पर्यटक पर्वतीय पर्यटनका लागि आउने गरेको बताए । यस वर्ष याम सुरु भइसके पनि अपेक्षित विदेशी पर्यटकको आगमन हुन नसकेको बताउँदै उनले अधिकतम सङ्ख्यामा पर्यटक भित्र्याउनका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गम्भीर रुपमा सोच्नु आवश्यक रहेको बताए । पर्यटकलाई आकर्षण गर्ने किसिमका पर्यटकीय गतिविधिको विस्तार आवश्यक रहेकोमा थापाको जोड छ । भूकम्पअघिका वर्षमा पोखराको लेकसाइड क्षेत्रमा विदेशी पर्यटकको चाप हुने गरे पनि त्यसपछि भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढेको होटल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थी बताउँछन् । हाल होटलमा ५० प्रतिशत विदेशी पर्यटक रहेको बताउँदै पन्थीले अन्य ५० प्रतिशत पर्यटक नेपाली रहेको जानकारी दिए । पछिल्लो समयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षणका कारण पोखराका होटलमा लगानी गर्ने क्रम पनि उत्तिकै बढेको छ । केही वर्षयता नेपालीमा घुमफिर गर्ने संस्कृति विकास भइरहेका कारण पोखरा आन्तरिक पर्यटनको आकर्षण बन्दै गएको हालै सञ्चालनमा आएको होटल प्राइम, लेकसाइडका सञ्चालक विष्णुबहादुर क्षेत्रीले बताए । 'छिमेकी राष्ट्र भारत र चीनका पर्यटकलाई अधिकतम रुपमा पोखरा ल्याउने वातावरण तयार गर्नुपर्छ,' उनले भने, 'स्वदेश भित्रै आन्तरिक पर्यटनलाई विकास गर्ने कुरा राज्यको प्राथमिकतामा पर्नु अपरिहार्य छ ।' रासस

tourist in pokhara

विशेष