अर्थ

टर्कीसको डिजेबल विमान पाइलट बेद उप्रेतीले किने

टर्कीसको डिजेबल विमान पाइलट बेद उप्रेतीले किने

कात्तिक ८ ।  उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ ।

स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् ।

turkish

दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ ।

यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने ।

काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले कान्तिपुरसँग भने ।

उक्त विमानभित्र ३ सय बढी जहाजका मोडल राखिने, उडानमा रहेका पाइलट/एयरहोस्टेस आदीकालागी तालिम केन्द्र लगायतका सुविधा राखिने छन् । ट्रष्टले संग्राहलय ६ देखी ८ महिनाभित्रै स्थापना गर्ने बताउँदै कुल लगानी ५ करोड हाराहारी हुने भनेको छ ।

हाल विमानस्थलमा रहेको एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौढाई १सय ९७ फिट रहेको छ ।

०७१ फागुन १९ गते साझ इस्तानबुलबाट उडेको यो विमान २० गते विहान काठमाडौं विमानस्थालमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।

नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान विमा गर्ने जर्मनी कम्पनीबाट बिमा दाबी रकम लिई पुन: बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो ।

त्यसताका यो विमान यस एयरलाइन्स मातहतकै प्राविधिक कम्पनीको स्वामित्वमा सारिएको थियो । दुई महिनाअघि मात्रै टर्किसले प्राविधिकहरु काठमाडौंमा पठाउँदै काम लाग्ने महंगा उपकरण निकाल्ने काम थालेको थियो । अहिले पनि यो कार्य जारी रहेको छ ।

त्यसैबेला टर्किस एयरलाइन्सले जहाजबाट महंगा स्पेयर पार्टस निकालेर जहाजको खोक्रो बडी नेपालमै लिलाम गर्ने निर्णय गरेको थियो । टर्कीस नेपालमा सबैभन्दा ठूलो आकारको जहाज उडाउने एयरलाइन्स मध्येको हो ।

यसले इस्तानबुल (काठमाडौं–इस्तानबुल) उडानमा एयरबसको ए–३३० सिरिजको जहाज उडाउँछ । यसको अत्याधिक यात्रु क्षमता ४ सय ४० छ ।

कान्तिपुर

 

Turkish Air

विशेष