अर्थ

राष्ट्र बैंकले तीन खर्ब ३६ अर्ब मूल्य बराबरका नोट जलायाे

राष्ट्र बैंकले तीन खर्ब ३६ अर्ब मूल्य बराबरका नोट जलायाे
कात्तिक – ८ । नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका पुराना र काम नलाग्ने अवस्थाका नोट जलाइएको हो । बैंकले २०७१ चैतदेखि २०७२ फागुनसम्मको अवधिमा ४० अर्ब ३५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको थियो । त्यसको अघिल्लो वर्ष २९ अर्ब चार करोड बराबरका नोट जलाएको राष्ट्र बैंकले जानकारी दिएको छ । विभिन्न समयमा गरी तीन खर्ब ३७ अर्बका नोट जलाइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । नेपालमा वि सं २००२ बाट कागजी मुद्राको प्रचलन सुरु भएको हो । बढी नोट चलचल्ती हुने ठाउँमा छिटो र कम हुने ठाउँमा केही समयको अन्तरालमा नोट जलाउने काम गरिन्छ । साधारणतया साना नोटको आयु तीन वर्षदेखि चार वर्ष र ठूला नोटको आयु पाँचदेखि ६ वर्ष रहेको पाइने अन्नपुर्ण पाेष्टले उल्लेख गरेकाे छ । जलाएको नोटको सट्टा अर्को उही मूल्यको नोट छाप्नुभन्दा पनि देशको आवश्यकता अनुसार नयाँ नोट बजारमा पठाइन्छ । सहज रूपमा मुलुकभर नेपाली नोटको व्यवस्थापन गर्ने प्रयोजनले नेपाल राष्ट्र बैंकले कम्तीमा तीन वर्ष तीन महिनालाई पुग्ने नोट सञ्चित गर्ने गरेको छ ।

born money Nepal Rastra Bank

विशेष