साढे २५ तोला सुनसहितको ब्याग बसबाटै गायब
कातिक—१० । काठमाडौंबाट पोखरा जाँदै गरेका पोखराका एक दम्पतीको साढे पच्चीस तोला सुनसहितको झोला बसबाटै गायब भएको छ । पोखरा १४ कोलपाटनका बुद्धिबहादुर गुरुङ र देउताकुमारी गुरुङ दम्पती ना ४ ख ३६९३ नम्बरको रात्री बसमा काठमाडौंबाट पोखरा फर्कदै थिए । झोलामा सुन राखेर सिरानी बनाएर सुतेकी गुरुङको झोला गएराति हराएको उनका श्रीमान बुद्धिबहादुर गुरुङले बताए ।
झोलामा ८ तोलाको राया, एक तोलाको पैसावाला औंठी, एक तोलाको बेरुवा औंठी, ३ तोलाको कानमा लगाउने चारलीङ टप, एक तोलाको जुली टप, तीन तोलाको नौगेडी, एक तोलाको तिलौरा, चार तोलाको सिक्री, बच्चाले लगाउने रिङ आधा तोला गरी साढे २५ तोला सुनका गरगहना चोरी भएको गुरुङ परिवारले बताएका छन् ।
सामान गायब भएको थाहा पाएपछि गुरुङ दम्पतिले तत्कालै प्रहरीमा खबर गरेका थिए । मुग्लिङ प्रहरीले अनुसन्धानका लागि बसका सहचालक विष्णु पौडेललाई नियन्त्रणमा लिएको छ । बीच बाटोमा बस रोकिनु र रोकिएलगत्तै सामान गायब हुनुलाई प्रहरीले शंकास्पद रुपमा हेरेको छ ।