अर्थ

भक्तपुरका भूकम्पपीडितले तिहारपछि मात्रै अनुदान पाउने

भक्तपुरका भूकम्पपीडितले तिहारपछि मात्रै अनुदान पाउने
कात्तिक - १० । भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गरिने भएको हो । भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली आउने क्रम जारी रहेकाले तिहार अगाडि अनुदान वितरण गर्न नसकिएको बताए। उनले भनेे “शुक्रबारसम्म लाभग्राहीको अन्तिम नामावली आइपुग्छ, दाबी विरोध गर्नेसहितको एकसाताको म्याद सकिएलगत्तै अनुदान वितरण गर्छौँ ।” तिहारलगत्तै जिल्लाका छ वटै नगरपालिकाकाको वडा कार्यालयमा नामावली टाँसेपछि त्यसको एकसातामै वडा कार्यालयबाट अनुदान वितरण गरिने भएको छ । भक्तपुरमा अहिलेसम्म २४ हजार ९०२ जना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिए। यसमध्ये भक्तपुर नगरपालिकामा छ हजार ८८८, नगरकोट नगरपालिकामा चार हजार ९१९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार २८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६१७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार १४० जना लाभग्राहीको पहिचान भएको छ ।

Anudan Bhaktapur Bhukampa Pidit

विशेष