अर्थ

जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका वस्तु भेटिए

जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका वस्तु भेटिए
अर्थ/बजारः जाजरकाेट

कात्तिक - १७ । जाजरकाेटका स्थानीय बजारमा पाइने ८० प्रतिशतभन्दा बढी वस्तुको म्याद गुज्रेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिल्यै पनि नहुने भएकाले व्यापारीले म्याद गुज्रेका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो । जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुज्रेका सामग्री बिक्री गर्ने गरेको भए पनि नियामक निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । जिल्लाका कालीमटी, चौखा, रिम्ना, थलहबजार, घाट, छेडा, मोर्क, तल्लु र रुकुमको आठविसकोट राडीलगायतका दर्जनौँ ठाउँमा यस्तो समस्या देखिएको छ । यही बाटो भएर डोल्पा जाने सामग्री पनि अधिकांश म्याद गुज्रेको पाइएको डोल्पाका रामचन्द्र न्यौपानेले बताए। ग्रामीण क्षेत्रका किसान पसलबाट खरिद गरी लिने सामग्रीको म्याद नहेर्ने भएकाले पनि व्यापारीलाई ठग्न सजिलो भएको छ । बिस्कुट, विभिन्न पिय पदार्थ, चाउचाउ, खानेतेललगायतका वस्तु बढी म्याद गुज्रेको पाइएको छ । स्थानीय प्रशासनले भने टाढा भएको भन्दै अनुगमनमा आलटाल गर्दै आएको छ । केही औषधि पसलमा समेत औषधिको म्याद गएको फेला परेको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले तिहारपछि अनुगमनलाई तीव्रता दिइने बताए। वर्षौंदेखि ग्रामीण क्षेत्रमा दर्ता नै नभएका पसलमा म्याद गुर्जेका वस्तुको बिक्री वितरण हुँदै आएको छ । रासस

Date Expiry goods Jajarkot

विशेष