स्कुस बिक्रीबाट लाखौँ रूपैयाँ आम्दानी
कात्तिक १७ । स्कुस बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समालबुङ गाविसका बासिन्दाले लाखौँ रूपैयाँ आम्दानी गरेका छन् ।
स्कुसबाट एउटै कृषकले दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । श्रीअन्तु गाविस–२ का गीता घिमिरेले यस वर्ष स्कुस प्रतिमन २५० देखि ३०० सम्ममा बिक्री गरेको बताउँछन्।
“गाउँमा किसानले एउटै याममा दुई लाख ५० हजारदेखि तीन लाखको स्कुस बेच्ने गरेका छन्,” उनले भने।
श्रीअन्तु र समालबुङमा उत्पादित स्कुसको बजार भारतको मिरिक, दार्जिलिङ र सिलिगुडी हो । नेपालको फिक्कल, इलाम र विर्तामोडमा समेत स्कुस बिक्री हुन्छ । यहाँ नेपाली र भारतीय दुवैतिरका व्यापारी गाउँगाउँमै पुगेर पनि स्कुस खरिद गर्ने गर्छन् । त्यसका अलावा कृषक आफैँले बजारसम्म पुर्याएर पनि बिक्री गर्ने गरेका छन् ।
भारततिर जाने स्कुस कृषक वा व्यापारीले मेची खोलासम्म घोडा वा गाडीमा पुर्याउने गरेका छन् । त्यहाँबाट ठूला गाडीमा भारतीय बजारसम्म व्यापारीले लाने गरेका समालबुङ–१ का नारद खड्काले बताए। किसानले उत्पादन गरेको स्कुस घरबाटै प्रतिमन २५० देखि ४०० सम्ममा बिक्री गर्ने गरेका छन् ।
श्रीअन्तु र समालबुङमा मात्रै स्कुसबाट वार्षिक करोडौँ रुपैयाँ भित्रिने गरेको छ । यहाँबाट भारत र नेपालका बजारमा करिब दुई लाख मनभन्दा बढी स्कुस जाने गरेको छ । स्कुसलाई बाँसको मचान बनाइदिए पुग्ने र गोडमेल तथा थप हेरचाहको झन्झट नहुने हुँदा स्कुस उत्पादनमा कृषकको आकर्षण बढ्दो छ ।
अन्तु समालबुङ क्षेत्र चिसो भएको हुँदा बेलाबेला मलखाद लगाएर पुग्दो मचान दिए फल टिप्न मात्र गए हुने स्कुसको बजार पनि सहज भएकाले कृषक यसको उत्पादनबाट सन्तुष्ट छन् । श्रीअन्तु समालबुङ जस्तै पूर्वी इलामका सूर्योदय नगरपालिकासहित गोदक, कोल्बुङ, जिर्मले, पशुपतिनगर गाविसमा स्कुस अत्यधिक उत्पादन हुन्छ ।
skus