अपराध सुरक्षा

साङ्घातिक आक्रमण गरी लुटपाट

साङ्घातिक आक्रमण गरी लुटपाट
कात्तिक - १७ । इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना आज सार्वजनिक भएको छ । प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ । कात्तिक १५ गते राति ९ः३० बजेतिर दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाई बाकसमा भएको अढाई लाखभन्दा बढी नगद लुटेर सटर बन्द गरी आक्रमणकारी फरार भएको घटनाको आज अनुसन्धान थालिएको हो । घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिएको छ । घटनास्थलमा फेला परेको मोबाइलका आधारमा एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । उपचाररत दाहालको आँखा र गिजामा जोखिमपूर्ण चोट रहेको तथा उनी अझै अर्धचेत अवस्थामा रहेकाले आक्रमणकारी यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताएका छन् ।

Chor Itahari

विशेष