सांसद अधिकारी भन्छन, तोडफोड भएको थाहा छैन, सीडीयो भन्छन, रक्सी खाएर कसैले तोडफोड गरेको होला
कात्तिक - १८ । पोखरामा भारतीय राष्ट्रपति प्रणव मुर्खजीको स्वागतको लागि तयार गरेको स्वागतद्वार तोडफोड भएको छ । नेकपा एमालेका नेता तथा सांसद रविन्द्र अधिकारीले स्वागतद्वार तोडफोड भएको थाहा नभएको बताएका छन् ।
उनी काठमाडौंमा रहेकाले पोखरामा के भइरहेको छ थाहा नभएको नेपालआजलाई टेलिफोनमा बताएका छन् । अधिकारी पोखराबाट निर्वाचित भएका सासंद हुन् ।
कास्की जिल्ला विकास अधिकारी हरीप्रसाद मैनालीले गेट तोडफोड अज्ञात समूहबाट नभई सामान्य व्यक्तिले मदिरा सेवन गरेर गरेको बताएका छन् । ‘बुधबार राती रक्सी खाएर सामान्य व्यक्तिले तोडफोड गरेको हो । ’उनले भने ‘अज्ञात समूहले होइन । ’ उनले गेट सामान्य च्यातिएको बताएका छन् । तर, फ्लेक्स च्यात्ने समूह अझैसम्म पक्राउ परेको छैन ।
भोली हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो । 'स्वागत छ पोखरामा' भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ ।
यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको छ ।
flex chyatiyo
Pokhara
pranab mukharji