अपराध सुरक्षा

कलबाइपास गर्ने पक्राउ

कलबाइपास गर्ने पक्राउ
कात्तिक - १८ । नेपाल टेलिकमको अप्टिकल फाइबर जडित ईवान पिआरआई प्रविधिलाई दुरुपयोग गरी कलबाइपास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाइपास गर्ने काठमाडौँ महानगरपालिका–१ नक्सालका रविराज सिंहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। सिंहले श्रीलंकन नागरिकसँग मिलेर नेपालमा ल्यान्डलाइन फोनबाट कलबाइपास गर्ने गरेको खुलासा भएको छ। सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अनलाइन बिजनेस गर्ने प्रयोजनका लागि रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट गत साउनमा मात्र कम्पनी दर्ता गर्न लगाएका थिए। पानीपोखरीमा डेरा लिई उनले कलवाइपासको उपकरण जोडी एक पटकमा एक सय २० वटा लाइनमा कलबाइपास गर्न सक्ने बनाएका थिए। दशैंको बिदाको मौका पारी फुलपातीको अघिल्लो दिनदेखि कल बाइपास गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ। नेपाल टेलिकमले उल्लेखित सेवा व्यक्तिलाई नदिने भएकाले सो सेवा लिने प्रयोजनकै लागि कम्पनी स्थापना गरेको समेत खुलेको छ। सिंहलाई पक्राउ गरी घर खानतलासी गर्दा कल बाइपासका लागि राखेको विभिन्न कागजपत्रसमेत बरामद भएको थियो। श्रीलंकन नागरिक नेपाल आई अवैध भिओआइपी जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कलबाइपास गर्न थालेका थिए। सिंहलाई नेपाल दूरसंचार ऐन, २०५३ बमोजिम कारबाही अघि बढाएको प्रहरीले जनाएको छ। सिंह यसअघि नक्कली भारुको कारोबार गरेको अभियोगमा पक्राउ परी २ वर्ष जेल बसेर छुटेका थिए। केन्द्रीय अनुसन्धान व्यूरोले अवैध भिओआइपी बिरुद्ध हालसम्म ९२ स्थानमा भएको कारबाहीमा एक सय ७ जना नेपाली र ३१ जना विदेशीलाई पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध ११ अर्ब ६७ करोड रुपैयाँ बिगो माग दाबी गरी अदालतमा मुद्दा दायर भएको छ।

kal baipas Pakrau

विशेष