अर्थ

उपत्यकाका भूकम्पपीडितसँग अनुदान सम्झौता सुरु

उपत्यकाका भूकम्पपीडितसँग अनुदान सम्झौता सुरु
कात्तिक - १९ । भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गर्न काठमाडौँ उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ । काठमाडौँका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिकाका पूरै र कामपाका दुई वडामा अनुदान सम्झौता सुरु भएको स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताए । बाँकी छ नगरपालिकामा सोमबारदेखि अनुदान सम्झौता सुरु हुने जनाइएको छ । ‘काठमाडौँमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार १०२ लाभग्राहीको सूची स्वीकृत गरेको छ, तिनसँग सम्झौता गर्न मन्त्रालयबाट २० हजार मात्र फाराम प्राप्त भएकाले समस्या परेको छ’, उनले भने । ललितपुरमा वज्रबाराही, महालक्ष्मी र कार्यविनायक नगरपालिका एवम् ललितपुर उपमहानगरपालिकाबाट अनुदान सम्झौता सुरु भएको छ । उपमहानगरपालिका सहित पाँच नगरपालिका र १९ गाविस रहेको ललितपुरका ग्रामीण भेगमा भने छठपछि मात्र अनुदान सम्झौता सुरु हुने जिविसका तर्फबाट भूकम्पसम्बन्धी काम गर्न तोकिनुभएका सम्पर्क अधिकृत सरिता महर्जनले जानकारी दिए । ललितपुरमा सूचीमा परेका लाभग्राहीको सूचना नगरपालिकाका वडा कार्यालय एवम् गाविस कार्यालयमा टाँस गरी जानकारी गराउने र सूचीमा नपर्नेको गुनासो दर्ता गर्ने काम पनि सुरु भएको छ । भक्तपुर नगरपालिकाका सबै वडामा लाभग्राहीको सूची सार्वजनिक गरी अनुदान सम्झौताको तयारी गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए । प्राधिकरणले उपत्यकामा ९० हजार आठ सय ८८ पीडितलाई अनुदान पाउने सूचीमा समावेश गरेको बताइएको छ ।

Bhukampa Pidit kathmandu

विशेष