अरुण तेस्रोको मुआब्जाले गरिबहरु बने करोडपति
कात्तिक २२ । पाथीभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्ष मात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारीमै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् ।
गाउँमा पाखोबारी त थियो, तर तीन महिना पनि खान नपुग्ने । तर, आज उनी एकाएक करोडपतिमा दरिएका छन् । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले डुबान तथा अन्य कारण अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा गएको बुधबारबाट वितरण गर्न थालेको छ । पाथीभरामा उनको तीन दाजुभाइको सगोलको २६ रोपनी जग्गा छ । जुन जग्गा डुबानमा पर्ने भयो र जेठा असारमान, माइला शेरबहादुर र उनले मुआब्जा पाउने भएका छन् ।
आयोजनाले पाखोबारीको प्रतिरोपनी आठ लाख २५ हजारका दरले मुआब्जा दिने भएको छ । त्यस्तै त्योभित्रका रूख, बिरुवा, अलैँची, घर, कटेरोको बेग्लै मूल्यांकन हुने भएको छ । ती सबैको हिसाब गर्दा तीन दाजुभाइले कम्तीमा पनि पाँच करोड पाउने निश्चित भएको छ । मुआब्जाबाट राम्रो पैसा आउने भएपछि लीलाबहादुरले खाँदबारी–१० नयाँ बजारस्थित जय चापागाईंको घर एक करोड १५ लाखमा किन्न बैना गरिसकेका छन् । त्यस्तै धरान र काठमाडौंमा पनि घर–घडेरी हेरिरहेको उनले बताए ।
याफुका टेकबहादुर राईले पनि मुआब्जा वितरण गरेको दोस्रो दिन तीन करोड ७१ लाख रुपैया“ बुझे । उनी पनि घर–घडेरी र जग्गा जोड्ने ध्याउन्नमा छन् । उनले केही रकम बैंक ब्यालेन्ससमेत गर्ने बताए । अरुण तेस्रोको मुआब्जामा भारी रकम पाउन थालेपछि खाँदबारीमा जग्गाको मूल्य आकासिएको छ भने बैंकले पैसा अभाव भएको भन्दै भुक्तानी मागेको जति रकम दिन सकिरहेको छैन । –नयाँ पत्रिकाबाट