घोषणा गर्दैमा हुँदैन, लोडसेडिङमुक्त बनाउन सजिलो छैन
कात्तिक–२७ । ‘राजधानी सहर काठमाडौँलाई लोडसेडिङमुक्त गर्न परीक्षण भइरहेको छ । यो काम चुनौतिपूर्ण छ तर व्यवस्थापन गर्न लागिएको छ ।’
उर्जामन्त्री जनार्दन शर्माले बिहीबार मन्त्रालयमा यसो भनिरहँदा काठमाडौँ उपत्यका बिजुलीमय थियो । यो निरन्तर हुने उनले दाबी गरे । उनले भने,‘लोडसेडिङ घटाउने हो तर यसमा घण्टा नटोकौँ, काम गरेपछि परिणाम देखिन्छ ।’ मन्त्रीको यो भनाइले उपत्यका अँध्यारोमुक्त हुने आशा जगाउँछ तर, तथ्य र वास्तविकता फरक छन् । शर्माले भाषण, योजना र तथ्यलाई तालमेल मिलाउन सके भने मात्र सर्वसाधारणले विश्वास गर्ने आधार बन्छ ।
नेपाल विद्युत् प्राधिकरणले समेत यो हिउँदमा काठमाडौँ उपत्यकालाई अँध्यारोमुक्त बनाउने प्रतिबद्धता गरेको छ तर, मन्त्रालय र प्राधिकरणकै केही अधिकारी यो सम्भव नरहेको तर्क गर्छन् । यसो त बिजुली आपूर्ति हेर्दा गत वर्षभन्दा यो वर्षको केही सहज छ ।
केही समयपछि पानीको बहाब कम हुँदै जान्छ र फागुन चैतसम्म निकै सुख्खा हुन्छ । त्यो समयमा क्षमताको २५ प्रतिशतभन्दा कम बिजुली उत्मादन हुन्छ । चमेलिया र कुलेखानीको निर्माण करिब ९५ प्रतिशत पूरा भए पनि हिउँदसम्म बिजुली उत्पादन नुहने प्राधिकरणका प्रवक्ता तथा विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । – नागरिक दैनिकबाट