बहुचर्चित रानीबारी हत्याकाण्डका अझै नसुल्झिएका रहस्यहरु
कात्तिक २७ । रानीबारी हत्याकाण्डमा प्रहरीले सफलता पाएको घोषणा तीन वर्ष अघि नै गरिसकेको छ । गृहमन्त्रालयले घटनाको सफल अनुसन्धान गरेको भनेर अनुसन्धानमा संलग्न प्रहरीहरुलाई पुरस्कृत पनि गरेको छ ।
१४ वर्ष अघिको त्यो विभत्स हत्याकाण्डमा काठमाडौैं सामाखुसीस्थित रानीबारीमा गीता खड्काको घरमा डेरा गरेर बस्ने हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या भएको थियो । उनीहरुकी चार वर्षकी छोरीलाई पनि हत्याराहरुले घाइते बनाएर बाथरुममा थुनेका थिए । लामो अनुशन्धानपछि प्रहरीले मनराज गुरुङ र प्रमेश चौहान भन्ने दुई व्यक्तिलाई पक्राउ गरेर अदालतसमक्ष बुझाएको थियो । अदालतले दुवै अभियुक्तलाई थुनेरै अनुशन्धान गर्नु पर्ने भनेर जेल पठाएको छ । यो मुद्धाको अन्तिम फैसला भइसकेको छैन ।
‘अनुशन्धानमा संलग्न प्रहरीहरुका अनुसार आरोप लागेका व्यक्तिहरु (मनराज र प्रमेश)ले ‘हत्यामा आफूहरुको संलग्नता छैन’ भन्ने इन्कारी बयान दिएका छन् । जसलाई जस्ताको त्यस्तै राखेर मिसिल तयार पारिएको छ । मिसिलमा मनराज र प्रमेशविरुद्ध बलिया प्रमाणहरु राखिएको छ । जसले गर्दा उनीहरुले इन्कार गरे पनि हत्या उनीहरुले नै गरेको प्रमाणित हुन्छ ।’ सो हत्याकाण्डको अनुसन्धान गरेका एक प्रहरी अधिकृतले भनेका छन् ।
प्रहरीहरुको यो दाबी आफ्नो ठाउँमा छँदैछ ।
प्रहरीको केन्द्रीय अनुशन्धान व्यूरो (सिआइबी)ले धेरै लामो र शुक्ष्म अनुशन्धान गरेर मनराज र प्रमेशले नै हत्या गरेको ठहर गरेर उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो । अदालतले प्रहरीको दावीलाई शुरुवातमा पत्याएर आरोपीहरुलाई जेल पठाएको छ । यति हुँदा हुँदै पनि यो रहस्यमय हत्याकाण्डका केही त्यस्ता विषयहरु छन् जो अझै सुल्झिन सकेका छैनन् ।
–आरोपी मनराज र प्रमेश हत्याकाण्डका एक पक्ष हुन् । अर्को पक्ष भनेको प्रहरी हो । जसले मुद्धा दायर गरेर हत्याकाण्डका दोषीलाई सजाय दिलाउन अदालतमा याचना गरेको छ । यस अर्थमा प्रहरी एउटा पक्ष हो । आरोपी अर्को पक्ष । यी दुई पक्षको दाबीलाई गलत र सही छुट्याउने निकाय भनेको अदालत हो । प्रहरीको दाबीलाई सही भनेर फैसला अदालतले गरेको छैन । तर गृह मन्त्रालयले रानीबारी हत्याकाण्डमा सफल अनुशन्धान गरेको भनेर अनुशन्धानमा संलग्न प्रहरीहरुलाई पुरस्कृत गरिसकेकेको छ । गृहमन्त्रालय भनेको प्रहरीकै माथिल्लो ‘गभर्निङ बडी’ हो । अदालतले प्रमाणित गर्नुअघि नै सफल अनुशन्धान भनेर यो घटनामा गृहमन्त्रालयले अदालतको भूमिका खेलिदियो । यस्तो घटना यसअघि कहिल्यै भएको थिएन ।
– घटना भएको बेला हेमन्त र अञ्जली श्रेष्ठकी छोरी आज्ञाश्री ४ वर्षकी थिइन् । हत्या मनराज र प्रमेशले गरेको हो भन्ने प्रमाणका रुपमा छोरी आज्ञाश्रीको बयानलाई पनि बनाइएको छ । चार वर्षको बालिकाले १२ वर्षपछि हत्यारा पहिचान गरेको विषय त्यति स्वभाविक भएन कि ? चार वर्षकी बालिकाले १२ वर्षपछि हत्यारालाई चिनेको कुरा पत्याउन सकिएला ?
प्रहरीले अनुशन्धानको प्रारम्भिक अनुशन्धानका क्रममा संदीग्धको केही ‘स्केच’ तयार पारेको थियो । ती स्केच मध्ये आज्ञाश्रीले संकेत गरेको व्यक्तिको अनुहार अर्का शंकास्पद व्यक्ति प्रकाश लामासँग मेल खान्थ्यो ।
–हेमन्त र उनकी पत्नी अञ्जलीलाई हत्या गर्ने क्रममा एक आक्रमणकारी पनि घाइते भएका थियो । घाइतेको हातमा चोट लागेको थियो । चोट लागेको हातबाट रगत चुहाउँदै त्यो व्यक्ति मेडिकलमा पुगेको थियो । जहाँ उसको उपचार भयो, त्यहाँका मानिसले ‘त्यो व्यक्ति मनराज गुरुङ थियो भनेका छन्’ भन्ने दाबी प्रहरीको छ । हत्याराको हातमा चोट लागेको बयान देख्नेहरुले दिएपछि प्रहरीले मनराजको हात परीक्षण गर्यो । नभन्दै मनराजको पनि हातमा खत भेटियो । मनराजको हातबाहेक टाउको र निधारमा पनि चोटको दाग छ । त्यो दागलाई प्रहरीले हत्यामा मनराजको संलग्नता रहेको आधारका रुपमा प्रस्तुत गरेको छ । तर विषय यहाँ के रहस्यमय छ भने, ‘त्यस्तो दाग अरु नै बेलाको हुन पनि त सक्छ । विज्ञहरुले पनि कति अगाडिको चोटले पारेको दाग हो भन्न सक्दैनन् ।’
–अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई झुठो बोलेको पत्ता लगाउने पोलिग्राफ मेसिनमा पनि राखेर प्रहरीले बयान लिएको थियो । पोलिग्राफ होस वा नार्को टेस्ट होस् । यस्ता टेस्टलाई अदालतले मान्यता दिँदैन । तर सिआइबीले पोलिग्राफ मेसिनमा राखेर लिएको बयानको रिपोर्ट आफ्नो मिसिलमा समावेश गरेको थियो ।
–प्रहरीको अनुसन्धानअनुसार श्रेष्ठ दम्पत्तिको हत्या गर्ने हत्याराहरुको योजना नै थिएन । योजना त श्रेष्ठ दम्पत्ती जुन घरमा बस्थे, त्यो घरकी मालिक गी ता खड्कालाई हत्या गर्ने थियो । तर हत्याराहरुले श्रेष्ठ दम्पत्तीको हत्या गरिदिए । यसो किन त ? गीता खड्काको लेनदेन, पारिवारिक कलह आदि कारणले उनको हत्या गर्न कुनै व्यक्तिले प्रमेश र मनराजलाई सुपारी दिएको थियो । त्यो सुपारी दिने व्यक्तिको नाम प्रहरीले एक महिनाभित्र सार्वजनिक गछौं भनेको थियो । तर तीन वर्ष बित्यो, मुख्य योजनाकार अझै गुमनाम छन् । यस्तो अनुशन्धानलाई कसरी सफल अनुशन्धानमा राखियो ? रहस्यम छ । अहिले पनि धेरैको मनमा उठ्ने प्रश्न हो गीता खड्काको हत्याका लागि सुपारी दिने व्यक्ति को थियो ?
–हत्याकाण्डको बेला श्रेष्ठ दम्पत्तीको, छोरीको र हत्यारको रगत भँुइमा झरेको थियो । त्यो रगतको समूह छुट्याइयो । तर डिएनए परीक्षण गरिएन । रगतको समूह त एक अर्कामा मिल्न पनि सक्छ । तर ‘डिएनए प्याट्रन’ कसैसँग पनि दुरुस्त मिल्दैन । यो घटनामा पनि मुख्य काम छाडेर ब्लड गु्रपमात्रै पत्ता लगाउने काम गरियो । पुर्पक्षमा गएकाहरुको पक्षले घटनास्थलमा भेटिएको रगतसँग दुवै अभियुक्तसँग मिल्दैन ।
–‘अनुशन्धानमा संलग्न प्रहरीकाअनुसार हत्याराले आफ्नो हातमा लागेको रगत धारामा धोएको देख्नेहरु छन् । चोटमा टेप टाँस्नेहरुले पनि बयान दिएका छन् । रक्सी खाएर मनराज र प्रमेशले हत्याबारे बोलेको कुरा देख्ने सुन्नेहरु पनि छन् । यस्ता अनेकन तथ्य र प्रमाण छन् जुन हेदै अदालतले शुरुमै दुवैलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।’ – प्रहरीको दाबी । यो तथ्यसँग छुटेको विषय के छ भने अभियुक्त मध्येका एक मनराज गुरुङको रक्सी पिउँदैन थिए ।