पर्यटन

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी सङ्कटमा

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी सङ्कटमा

majuwa-gadiमंसिर १ । अवैधरुपमा ढुङ्गागिट्टी निकासी गर्न थालेपछि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी सङ्कटमा परेको छ । गढीको पूर्व र पश्चिमतर्फ दुवैतिरबाट स्थानीयले अवैधरुपमा ढुङ्गागिट्टी झिकेर बेच्न थालेपछि किरात समुदायको ऐतिहासिकस्थल मझुवागढी सङ्कटमा पर्दै गएको हो ।

गढीदेखि करिब एक किलोमिटर तल पर्ने सडक माथिबाट ढुङ्गागिट्टी झिकेपछि पहिरो झर्न थालेको गढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । ऐतिहासिक तथा पर्यटकीयस्थल सङ्कटमा पर्दै गएको छ । यसलाई संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ ।

ढुङ्गा तथा गिट्टी झिकेको ठाउँबाट पहिरो झर्न थालेपछि दिक्तेल–खानीडाँडा र दिक्तेल–मेघेचौतारा सडक पटकपटक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध भएपछि स्थानीयले ढुङ्गागिट्टी निकासीमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

स्थानीयले बुझाएको ज्ञापनपत्रको आधारमा स्थलगत अनुगमन गरेर निकासीमा रोक लगाए पनि रोकिएको छैन । सडकदेखि गढीडाँडासम्म ढुङ्गाखानी रहेको त्यस क्षेत्रमा ठेकेदारले जग्गा नै खरिद गरेर निकासी गरिरहेका छन् ।

सडक आसपासबाट निकालिएको ढुङ्गागिट्टी दिक्तेलमा निर्माणाधीन सरकारी भवन तथा व्यक्तिको घरमा प्रयोग हुने गरेको छ । अन्यभन्दा उक्त ठाउँ दिक्तेलको सबैभन्दा नजिक भएकाले पनि ठेकेदारले सोही ठाउँको ढुङ्गागिट्टी प्रयोग गर्ने गरेका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी सदरमुकाम दिक्तेलबाट करिब आधा घन्टा पैदल यात्रापछि पुगिन्छ । मझुवागढी नजिकै कालिका भगवती मन्दिर र केही तल महादेव गुफा रहेको छ ।

भगवती मन्दिरमा बर्से्नि बाख्राको हजारौँ पाठी बलि दिने गरिन्छ । महादेव गुफामा रामनवमी, बालाचतुर्दशी, तीजलगायतमा मेला लाग्ने गरेको छ । किरात समुदायको ऐतिहासिक थलो मानिने गढीमा भने हरेक वर्षको वैशाखे पूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको छ । उक्त दिन किरात समुदायले गढीको पूजा गरेपछि ढोल÷झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गढी पुग्न पदमार्गसमेत निर्माण गरिएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको मझुवागढी ढुङ्गा तथा गिट्टी निकासी गर्दा पहिरोको जोखिममा पर्दा राजनीतिक दलसमेत बेखवर रहेका छन् ।

यसप्रति समयमै सम्बन्धित निकायको ध्यान नजाने हो भने, ऐतिहासिकस्थल सङ्कटमा पर्ने देखिएको छ । ढुङ्गागिट्टी निकासीमा रोक लगाएर गढीलाई पर्यटन प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक आयस्रोतमा समेत सघाउ पुग्ने स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए ।

Majuwa Gadi

विशेष