अर्थ

मूल्य वृद्धि घट्दो, उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतमा ओर्लियाे

मूल्य वृद्धि घट्दो, उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतमा ओर्लियाे
मंसिर - ३ । मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकले उल्लेख गरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.७ प्रतिशत थियो । सो समूह अन्तर्गत दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अन्डा, मासु तथा माछा लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले खाद्य मुद्रास्फीति कम रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैरखाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७.१ प्रतिशत थियो । सो समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशतले, शिक्षा ९.६ प्रतिशतले र घरभाडा ९.४ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौँ उपत्यकामा ५.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर क्रमशः ८.५ प्रतिशत, ६.९ प्रतिशत, ७.५ प्रतिशत र ९.१ प्रतिशत थियो । सो अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब ९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा पछिल्ला महिनामा निरन्तर कमी आएकाले विप्रेषण आप्रवाह ओरालो लागेको हो । रासस

mulybirdi Nepal Rastra Bank

विशेष