कविता – तृप्तीको गीत
–समा श्री
पण्डितजी
तिमी गोरसमा डुबुल्कि मारेर मालपुवाको मिष्ठान्न भोजनले तृप्त ईश्वर सम्झाउने मन्त्र पढाउन खोज्छौ म पाप्रा उप्किने सुखा रोटीमा केवल जीवन बाँच्ने सूत्र खोज्छु
मौलवी साहब तिमी बकर इदको कबाब परौठामा बेरेर डकारे पश्चात अल्लाहको गुनगानमा आयात पढ्न भन्छौ म मांसविहीन आफ्ना करंगहरुमा केवल बाँच्ने उपक्रम गरी रहन्छु
‘डियर पास्चर’ तिमी चौरासी व्यञ्जन र ‘वाइन’सहितको रात्रीभोज निमिट्यान्न पारेर सबैको सुखका लागि कुनै ‘भर्स’ पढेर ‘आमेन’ भन्छौ म रित्ता थालहरुमा पानी भरेर केवल भोकको आगो मेटाउन खोज्छु म भोकले रन्थनिएको छु लर्बरिएको छु ईश्वर अल्लाह र जिससले कहिल्यै मेरो पेटाग्नी शान्त पार्न कुनै मन्त्र पढेनन् कुनै आयात भनेनन् कुनै भर्स सम्झाएनन् त्यसो भएको भए म चिर्ने थिएँ आफ्नै जिब्रो चार भागमा र गाउँने थिएँ तिमीले भन्दा चर्का स्वरमा हजारौँ पटक ईश्वरको बन्दना
हो एक पटक आऊ पार शान्त मेरा क्षुधा र सुन तृप्तीको गीत तिमीले गाउने भजन भन्दा त्यो अवश्य मीठो गुञ्जिने छ अवश्य अलौकिक लाग्ने छ
काठमाडौं, हालः इजरायल