अर्थ

सरकारी स्वामित्वका पसलको भाडा २ सयभन्दा कम

सरकारी स्वामित्वका पसलको भाडा २ सयभन्दा कम
lalitpur-sub-metropolicain मंसिर- ७ । मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ । ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ । पाटन दरबार क्षेत्र र त्यस आसपासमा रहेका विभिन्न सरकारी निकायको स्वामित्वमा रहेका कबलहरुको लामो समयदेखि भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन हुन नसकेकै कारण पुरातत्व विभाग, पाटन दरबार हेरचाह कार्यालय, ललितपुर उपमहानगरपालिकालगायतका सरकारी निकायको स्वामित्वमा रहेका पसल÷कबलहरु व्यापारीले रु २०० भन्दा कम भाडामा सञ्चालन गरिरहेका छन् । दरबार क्षेत्रमा मात्रै झन्डै एक सय वटा पसल÷कबल रहेका छन् । तीमध्ये झन्डै ४५ वटा पसल गुठी संस्थान ललितपुर शाखाको स्वामित्वका छन् । अधिकांश कबलको भाडा रु ५० देखि रु २००÷२५० सम्म रहेको कार्यालयका प्रमुख बैकुण्ठ आचार्यले बताए । उनी भन्छन् – “धेरै व्यापारीहरु त पुस्तौँदेखि त्यही भाडादरमा यहाँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।” थोरै रकम मात्रै भाडाका रुपमा तोकिए पनि त्योसमेत व्यवसायीले वर्षौंदेखि बुझाएका छैनन् । अाचार्यले भने– “विभिन्न कारण देखाएर त्यही कम भाडासमेत कार्यालयमा बुझाएका छैनन् ।” कार्यालयले मात्रै चाहेर भाडा बढाउन वा उठाउन नसक्ने उनी बताउँछन् । यस क्षेत्रका कतिपय कबलहरुको विगतमा स्वामित्व विवाद रहेको थियो । कतिपय व्यापारीले स्वामित्व विवादको कारण देखाएर भाडा बुझाउन आनाकानी गर्दै आएका छन् । स्वामित्व विवादपछि ती कार्यालयहरु अदालतसम्म पुगेका थिए । उनी भन्छन् – “व्यापारी आफैँले मुद्दा गर्दा पनि वर्षौंसम्म टुङ्गिँदैन ।” यस क्षेत्रमा पुस्तौँदेखि व्यवसाय सञ्चालन गर्दै आएका कतिपय व्यापारीले गुठी संस्थानसँग मोहियानी हक माग्ने गरेका छन् । लामो समयदेखि आफूले मर्मत सम्भारको काम गरेको भन्दै मोहियानीको माग गर्ने गरेका हुन् । केही वर्ष पहिले केही व्यापारीले मोहियानी हकको माग गर्दै गुठीमा निवेदन दिन गएका थिए । गुठीले निवेदन बुझ्न नमानेपछि उनीहरुले हुलाकमार्फत पठाएका थिए । गुठी संस्थानले पहिले मर्मत गरेर बस्न पत्र दिएको थियो । यही पत्रलाई आधार बनाएर उनीहरु पटक पटक अदालतसमेत पुगिरहेका छन् । अदालतले धेरै पटक अन्तरिम आदेश दिँदा पनि यो विषय अझै लम्बिरहेको छ । पाटन दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले अहिले कार्यालयको स्वामित्वमा एउटा मात्रै भवन भाडामा रहेको बताए । लामपाटीमा माथिल्लो तलामा क्याफे र तल्लो तलामा पाँच÷छ वटा पसल छन् । क्याफेसँग भएको सम्झौता गत साउनमा सकिएको छ । अर्को पटकका लागि टेन्डर आह्वान गरिए पनि अहिले क्याफे सञ्चालक आफैँले सञ्चालन गर्न पाउनुपर्ने माग गरेर अदालत गएका छन् । उनले भने – “भूकम्पका समयमा नौ महिना चलाउन नपाएकाले नौ महिना थप्न भन्दै अदालतमा मुद्दा परेको छ ।”

Sub-Metropolitan City Head Office

विशेष