अपराध सुरक्षा

मोस्ट वान्टेड सूचीमा रहेका भारतीय अभियुक्त पर्सामा पक्राउ

मोस्ट वान्टेड सूचीमा रहेका भारतीय अभियुक्त पर्सामा पक्राउ
मंसिर – ९ ।  मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सीमा क्षेत्रमा अपराधिक गतिविधि संचालन गर्दै आएका भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा गाँउ बस्ने ३७ वर्षे महम्मद समीम अख्तरलाई प्रहरीले विहीबार पक्राउ परेको हो । प्रहरीका अनुसार हत्या, बलत्कार र चोरीका गाडी किनबेचजस्ता क्रियाकलापमा संलग्न रहेका अख्तरलाई आधुनिक हतियारसहित पक्राउ गरिएको हो । अख्तरलाई प्रहरीले वीरगन्जको पानीट्यांकी टोलबाट बिहीबार बिहान करिब ३ बजे पक्राउ गरेको जनाएको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अख्तरलाई पक्राउ गरी बिहीबार साँझ हतियारसहित सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अख्तरको साथबाट स्वचालित पेस्तोल एक थान, त्यसमा लाग्ने गोली १८ राउण्ड, म्याग्जीन दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान बरामद भएको छ । उनीसँग मोबाइल सेट ६ थान, नेपाली नम्बरको सीम कार्ड पाँच थान, भारतीय सिम कार्ड नौ थान, छुट्टा छुट्टै नाम तर फोटो एकै व्याक्तिको भएको भारतीय निर्वाचन आयोगको कार्ड तीन थान, भारतीय चार पाङग्रे गाडीको खाली ब्लु बुक चार थान, एउटै व्याक्तिको फरक फरक नाम राखेर बनाइएको भारतीय सवारी साधन चालक अनुमतिपत्र चार थान, भारतीय सवारी साधनको ब्लु बुक पाँच थान, स्मार्ट लाइसेन्स एक थान, भारतीय स्टेट बैंकको एटिएम कार्ड एक थान, २४ हजार ४० नेपाली रुपैयाँ, नौ हजार तीन १० भारतीय रुपैयाँसमेत बरामद भएको बताइएको छ । पर्सा प्रहरीका अनुसार पक्राउ परेका अख्तर भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अपराधी हुन् ।

Most Wanted pakrao Prasa

विशेष