काठमाडौंमा जग्गाको मूल्य दोब्बर
मंसिर–११ । अघिल्लो वैशाख १२ मा आएको विनाशकारी भूकम्पयता डेढ वर्षको अवधिमा काठमाडौँ उपत्यकालगायत मुलुकभरका सहरी क्षेत्रमा घरजग्गाको मूल्य ४० देखि शतप्रतिशतसम्म बढेको छ ।
राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गाको लगानीमा जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्थालाई यो क्षेत्रमा लगानीको सीमा तोकेपछि सुस्ताएको कारोबारसँगै मूल्य फेरि बढ्न थालेको हो ।
सरकारी अधिकारी र घरजग्गा व्यवसायी आधा दशकदेखि धर्मराउँदै आएको घरजग्गाको मूल्य अहिले बढेको बताउँछन् । उनीहरुका अनुसार काठमाडौँ उपत्यकाको रिङरोडभित्रका घरजग्गाको मूल्य ४० प्रतिशतसम्म र बाहिरका केही ठाउँमा जग्गाको मूल्य सय प्रतिशतसम्म बढेको छ । यस अवधिमा उपत्यकाबाहिर तराई क्षेत्रमा र जिल्ला सदरमुकामहरुमा पनि मूल्य बढेको छ । सरकारी अधिकारी र व्यवसायीका अनुसार पोखरामा मूलय अस्वाभाविक रुपमा बढेपछि किनबिचमा नै कमी आएको छ ।
सरकारी तथ्यांकले पनि पछिल्लो समयमा घरजग्गाको मूल्य बढेको देखाउँछ । मुलुकभरको घरजग्गा कारोबारको अनुगमन गर्ने जिम्मेवारी पाएको सरकारी निकाय भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा घरजग्गा किनबेचबाट ६ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । यो गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । –नागरिक दैनिकबाट