अर्थ

जापानी संस्था जाइकाले नेपालमा ४ खर्ब ४८ अर्ब लगानी गर्यो

जापानी संस्था जाइकाले नेपालमा ४ खर्ब ४८ अर्ब लगानी गर्यो

मंसिर १२ । जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले नेपाललाई हालसम्म साढे ४ खर्ब रुपैयाँ सहयोग गरेको जनाएको छ । जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीको संगठनले ललितपुरमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जाइका नेपालका प्रमुख जुन साकुमाले प्रविधि, ऋण र अनुदान गरी ४ खर्ब ४८ अर्ब रुपैयाँ नेपालमा खर्चिसकेको जनाएका छन् । यो सन् १९७० देखि २०१४ सम्मको तथ्यांक भएको उनले बताए ।

jaica

उनले जापानी सहयोग नेपालमा भौतिक पूर्वाधार तथा संस्थागत विकास, प्रजातन्त्र तथा संघीयता प्रवर्द्धन, ग्रामीण गरिबी निवारण, पुनर्निर्माणमा भएको जनाए। ’भौतिक पूर्वाधारमा लगानी देशको दिगो विकासका लागि महत्वपूर्ण छ,’ उनले भने, ’यसले आर्थिक वृद्धि मात्रै गर्दैन गरिबी निवारण, जीवन शैलीको गुणस्तरमा वृद्धि, जनता तथा क्षेत्रहरूबीच सम्बन्ध जोड्न महत्वपूर्ण काम गर्छ।’

जाइकाले कुलेखानी तथा कालीगण्डकी जलविद्युत आयोजना, काठमाडौं उपत्यकामा खानेपानीको शुद्धता, तीनकुने सूर्यविनायक सडक, बनेपा बर्दिवास सडक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल निर्माण, नागरिक उड्डयन सुरक्षा आधुनिकीकरणलगायत क्षेत्रमा काम गरेको छ । कार्यपत्रमा टिप्पणी गर्दै भौतिक पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले जापानले भौतिक पूर्वाधारको क्षेत्रमा गरेको प्रगतिबाट शिक्षा लिनुपर्ने बताए ।

जापानीले कसरी रेल र सडकसहित भौतिक पूर्वाधारको निर्माण गरेर आफूलाई सक्षम बनाउँदै लगे भन्ने विषय नेपालका लागि शिक्षाप्रद छ,’ आचार्यले भने । नेपाल र जापानबीच दैत्य सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जापानले नेपालका स्वास्थ्य क्षेत्रमा गरेको सहयोगबारे त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डा. हेमाङ्मणि दीक्षितले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल–जापान राजनीतिक तथा कूटनीतिक सम्बन्ध विषयमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख खड्ग केसी र नेपाल जापानबीचको व्यापार तथा विकास साझेदारी विषयमा जापानी दूतावासका आर्थिक सहकार्य शाखाका प्रथम सचिव माकोटो ओमायाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Jaica Nepal

विशेष