अर्थ

अदुवाखेतीमा किसानको आकर्षणमा कमी

अदुवाखेतीमा किसानको आकर्षणमा कमी
मंसिर–१२ । अदुवाको मूल्य बर्सेनि ओरालो लाग्न थालेपछि किसानको अदुवा खेतीप्रति आकर्षण घट्न थालेको छ । उचित मूल्य नपाउनु र अदुवा कुहिनुका साथै स्थानीय बजारमा खपत हुन नसकेका कारण पनि उनीहरुले अदुवाखेती गर्न छाडेका हुन् । विगत तीन वर्षदेखि अदुवाको मूल्यमा ओरालो लाग्न थालेसँगै किसानमा अदुवाखेती गर्ने रुचि हराउन थालेको हो । पहिला गाउँभरि अदुवाखेती गर्नेहरु अहिले तरकारीखेती गर्न थालेका छन् । एकै वर्षमा दुईपटक तरकारीखेती गर्न सकिने हुँदा किसान अदुवाखेती छाडेर तरकारीखेती गर्न थालेकाले पाल्पा जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । गाउँमा उत्पादित तरकारी पाल्पा सदरमुकाम तानसेन, रुपन्देही, कास्की तथा स्थानीय बजारमा समेत सहज रुपले खपत हुँदा यहाँका किसानले तरकारीखेती गर्न थालेको मुझुङ्ग कृषि सहकारी संस्थाका सचिव तथा मुझुङ्ग–४ का स्थानीय बासिन्दा अम्मरबहादुर कार्कीले बताउँछन् । प्रतिकिलो रु ५० देखि ८० मा खरिद बिक्री हुने अदुवा नयाँ अदुवाको चाकालाई प्रतिकिलो रु १०, पुरानी अदुवाका चाकालाई प्रतिकिलो रु २० मा गाउँमा खरिद हुँदै आएपछि अदुवाखेती गरेका किसान मर्कामा परेका हुन् । जिल्लाको छहरा, पालुङ्गमैनादी, भुवनपोखरी, सोमादी, सिद्देश्वर, कुसुमखोला, फेक, खस्यौली, भैरवस्थान, ख्याहा, देउराली लगायतका गाविसका किसानले अहिले अदुवाखेती गर्न छाडेर तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेको बताउँछन् । अदुवाको प्रशोधन गरी धुलो बनाउन नसक्दा अदुवाको खपतका लागि भारतमुखी हुनुपर्ने बाध्यताले निकासीमा समस्या हुँदै आएको छ । भारतमा अदुवा उत्पादन कम हुँदा मात्र नेपालको अदुवाले मूल्य राम्रो हुने, भारतमा उत्पादन बढी भएमा नेपाली अदुवाले बजार मूल्य ओरालो लाग्ने गरेको अदुवा सङ्कलन बताउँछन् । मौसमअनुसार तरकारी गरेर आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालयले तरकारीखेती गर्ने किसानलाई प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । रासस

ginger Palpa

विशेष