अर्थ

अब मनकामनाको सुन्तला किन्दा ग्राहक नझुक्किने

अब मनकामनाको सुन्तला किन्दा ग्राहक नझुक्किने
orange मंसिर १२ । तपाईं मनकामनामा उत्पादन भएको रसिलो सुन्तला खान चाहिरहनुभएको छ तर व्यापारीले अन्यत्रकै सुन्तला दिएर मनकामनाको हो भन्दै ढाँटेका छन् भने अब चिन्ता लिनु पर्दैन । तपाईंले चाहेअनुसार नै मनकामनामा उत्पादित स्वादिलो सुन्तला स्टिकर टाँसेर बजारमा झारिएको छ । सुन्तलाको दानामा टाँसेको ‘मनकामनाको सुन्तला’ स्टिकर हेरी घरछेउको बजारबाट मनकामनाको सुन्तला सजिलै किन्न सकिन्छ । मनकामनामा उत्पादित सुन्तलाको ब्रान्ड चोरेर अन्यत्रको सुन्तलाको बिक्री बढेपछि जिल्ला कृषि विकास कार्यालय गोरखाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले मनकामनाको सुन्तलामा स्टिकर (लोगो) टाँस्न सुरु गरेको हो । कृषि राज्यमन्त्री राधिका तामाङले शनिबार मनकामनाको ढाँडबारीमा आयोजित एक कार्यक्रममा सुन्तलामा स्टिकर टाँस गरेकी हुन् । यस अभियानले मनकामनाको सुन्तला बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ । राज्यमन्त्री तामाङले भनिन्, “मनकामनाको सुन्तला हो भन्दै व्यापारीले अन्यत्रकै सुन्तला महँगोमा बेचेका थिए । म पनि कयौँ पटक झुक्किएकी छु । अबदेखि उपभोक्ता झुक्किनु पर्दैन ।” सुन्तलामा स्टिकर टाँसेपछि आम उपभोक्तालाई मनकामनाको सुन्तला चाख्ने अवसर मिलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले बताए । साना किसान कृषि सहकारीको ६ लाख रुपैयाँ लगानी र जिल्ला कृषि विकास कार्यालयमार्फत प्याक्ट कार्यक्रममार्फत १० लाख रुपैयाँले मनकामनाको ढाँडबारी क्षेत्रको सुन्तलाको बगैँचा व्यवस्थापन तथा सुन्तलामा स्टिकर टाँसी बजारीकरण गरिएको हो । स्थानीय कृषक टङ्कप्रसाद दुवाडीका अनुसार आँबुखैरेनी, बनौती, मनकामना कच्ची सडकको स्तरोन्नति नहुँदा सुन्तलाको ढुवानीमा समस्या भएको छ । केही कृषकले मनकामनास्थित केवुलकारबाट सुन्तलाको ढुवानी गरे पनि अधिकांश कृषकले साना ट्रक, जिपमार्फत सुन्तला ढुवानी गर्दै आएका छन् । उनले भने, “बिभिन्न रोगले सुन्तलाको पुराना बगैँचा सखाप बनायो । फलेका सुन्तला पनि बाटो राम्रो नहुँदा समयमै बजारसम्म ढुवानी गर्न सकिएन ।” मनकामनाको सुन्तला मुग्लिन, नारायणगढ, पोखरा, आँबुखैरेनी, गोरखाबजार, काठमाडौँलगायत सहरमा बिक्री हुँदै आएको छ । “बजारमा मनकामनाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बिक्री हुँदा उपभोक्तालाई मार परेको छ,” साना किसान सहकारीका अध्यक्ष कृष्णबाबु श्रेष्ठले बताए । सुन्तलाको पकेट क्षेत्र मनकामना, ताङ्लीचोक, मकैसिङ, घैरुङ, देउरालीलगायत गाविसमा सुन्तला उत्पादन वृद्धि गर्न बगैँचा सुधार कार्यक्रम लागू गरिएको छ । सुन्तला प्रवद्र्धन गर्न महोत्सव गोरखामा उत्पादित सुन्तलाको प्रवद्र्धनका गर्न ताङ्लीचोक याङ्दीको सुन्तला उत्पादक कृषि सहकारी संस्था लिमिटेड र जिल्ला कृषि विकास कार्यालयले सुन्तला महोत्सव गरेका छन् । शनिबारदेखि याङ्दीमा सुरु भएको महोत्सव आज सकिँदैछ । सुन्तला महोत्सवको शनिबार कृषि राज्यमन्त्री राधिका तामाङले अवलोकन गरेका थिए । महोत्सवमा सुन्तला प्रदर्शनीका साथै तरकारीबालीको प्रदर्शनी गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिए । याङ्दीका कृषक डिलबहादुर थापाका अनुसार गत वर्षको तुलनामा सुन्तलाको दाना साना छ भने उत्पादनमा वृद्धि भएको छ । थापाले भने, “सुन्तलाको फूल खिलेर दाना लाग्ने बेलामा पानीको अभाव भयो जसले गर्दा साना दाना लागेको छ । खडेरीले गर्दा सुन्तला रसिलो पनि छैन ।” किसानले सुन्तला बिक्री गरी लाखौँ आम्दानी लिने गरेका छन् । सुन्तलाले बर्षेनि आम्दानी दिए पनि बगैँचाको सुधार, मलखादको व्यवस्थापन र पुराना रूख काँटछाँट नगर्दा सुन्तला उत्पादनमा ह्रास आएको छ ।

विशेष