अर्थ

मेलामा रू १० करोड बराबरको कारोबार

मेलामा रू १० करोड बराबरको कारोबार
pradashani-hastakal
मंसिर - १४ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा रू १० करोड बराबरको आर्थिक कारोबार भएको छ । यही मङ्सिर १० गतेदेखि आजसम्म जारी मेलामा करिब दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल नामक संस्थाले रू एक लाख पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट बिक्री कक्षतर्फ आरजेस बेतबाँस फर्निचर लघुउद्योग राजापुर बर्दियाले रू २५ हजार पुरस्कार प्राप्त गरेको छ । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले उत्कृष्टलाई पुरकार प्रदान गर्दै नेपाली हस्तकलाको विश्व बजारमा राम्रो माग भएको बताउँदै यसको उत्पादनलाई बढाउन सरकारले उद्यमीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासका क्रममा निर्यात व्यापारमा अग्रणी भूमिका रहेको बताउँदै यसलाई देशभर फैलाउन सकेमा ठूलो रोजगारी सिर्जना हुने र गरिबी निवारणको सहयोग पुग्ने बताए । महासङ्घको अभिलेखअनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करिब पाँच अर्ब बराबरको रहेको छ । सो क्षेत्रले करिब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गरेको बताइएको छ । रासस

Hastakal Pradasani

विशेष