अलिकति खुशी
- अनुराग
हिजो बुटवल बन्दका कारण पश्चिमबाट छुट्ने गाडीहरु आइपुगेका थिएनन् । घरबाट काठमाडौं जान भनेर निस्किहालें तर गाडी पाइएन । पोखरा बसपार्कमा पोखरा, बाग्लुङ, गोरखा र लमजुङका लागि मात्रै गाडी थिए ।
नारायणगढ – काठमाडौं रुटमा चल्ने माईक्रो तथा क्याबका टिकट काउण्टरमा मान्छेको भीड खचाखच थियो । तर, गाडी नभएको भन्दै टिकट बिक्री रोकिएको थियो । त्यसपछि आँपटारी गएँ, केहि क्षण पर्खेपछि पूर्वबाट छुटेको बस आयो अनि सुरु भयो काठमाडौंको यात्रा ।
▪
मलेखु कटेपछि एउटी पैसट्ठी – सत्तरी बर्षकी बृद्धा चिच्याइन् –‘बाबु, गजुरीमा गाडी रोक्देउ है, म त्यहिं झर्ने हो ।’
आफूलाई गाडीको स्टाफ बताउने एउटा केटा भाडा माग्न आयो । बृद्धाले ब्याग खोतलिन् । यताउति छामछुम् गरिन् । अनि केहि सम्झेजस्तो गरेर अनुहार डराए जस्तो बनाउँदै भनिन् – ‘ला ! बाबु मैले त पैसा झोलामा राख्नै बिर्सेछु, घरमै छुटेछ ।’
केटाले अलि ठुलो स्वरले भन्यो – ‘कहाँ हुन्छ त्यसरी ? झन्, बुढाबुढी भनेर सीटमै राखेर लिएर आयो अनि भाडा नदिन अनेक बहाना बनाउँछन् । एक्लै चढ्ने बुढाबुढीलाई त गाडी चढाउनै नहुने के । खुरुक्क चाहियो पैसा ।’
बृद्धाले झण्डै रुन्चे स्वरमा अनेक बिलौना गरिन् । तर, त्यो केटा अलिकति पनि पग्लिएन । बरु पैसा नदिए गजुरीमा गाडी नै नरोक्ने धम्की दियो । गाडीका अरु सबै यात्रीहरु चुपचाप तमाशा हेरिरहेका थिए । केटाले हद नै नाघेर अनेक शब्दहरु प्रयोग गर्न थालेपछि मलाई असह्य भयो । अनि भनें – ‘भाइ कति हो भाडा, आमैले दिनुपर्ने ?’
‘हेटौंडाबाट चढाएको हो ।’ केटाले भन्यो ‘गजुरीसम्मको चार सय ।’
‘म दिउँला भाडा । आमैले भनेकै ठाउँमा गाडी रोक्देउ ।’ मैले भने । सबै यात्रुले कुनै अनौठो प्राणीलाई हेरेझैं मलाई हेरे ।
वृद्धाले आँशु टिलपिल भएका आँखाले मतिर हेर्दै भनिन् – ‘जय होस् बाबुको, भाडा दिन नसक्ने बुढी त होइन म, के गर्नु बुढेश लागेपछि बिर्सने बानी लाग्दोरै’छ । बाबु त मेरो भगवान् भएर आउनुभको रै’छ । बाबुलाई भगवानले सधैं हेरुन्, बाबुले आँटेका काम पूरा होउन् । दुःख भन्ने कुरो कहिल्यै नपरोस् ।’
वृद्धाले आँखाको आँसुसँग शब्दहरु मिसाएर कृतज्ञता व्यक्त गरिरहेकी थिइन् । मन ढक्क भयो ।
▪
वृद्धा गजुरीमा झरेपछि बसमा ‘म’ एकाएक सेलिब्रेटी जस्तै बनें । म असीम आनन्दको अनुभूति गरिरहेको थिएँ । कसैलाई खुशी दिइयो भने आफ्नो लागि दोब्बर खुशी परावर्तित हुन्छ भन्ने कुरा मैले राम्रैसँग महशुस गरें । जाबो चार सयले पनि यति धेरै अमूल्य खुशी मिल्दो रहेछ ।
कलंकी आइपुग्ने बेला त्यहि केटा सबैजनासँग भाडा उठाउँदै आयो । मेरो तीन सय र वृद्धाको चारसय गरि सात सय तिर्नु थियो ।
‘नारायणगढ’बाट भन्दै एक हजारको नोट दिएँ । तीनसय फिर्ता गर्नुपर्नेमा उसले सातसय फिर्ता गर्यो । बृद्धाको भाडा उसले बिर्सियो ।
कहिलेकाहि एकै बचन बोलिदिँदा मात्र पनि त ठूलै सहयोग पुग्दो रै’छ । एक मनले भन्योे उसलाई सम्झाएर बृद्धाको भाडा पनि तिरिदिउँ अनि अर्को मनले भन्यो ‘जाबो चारसय नपाउँदैमा तेरो पनि जहाज डुब्दैन, तेरो पनि अलिकति पाप पखालियोस् ।’
चुपचाप कलंकीमा झरें ।
त्यसपछि के भयो ?
▪
झमक्क साँझ परिसकेको थियो । बसबाट झर्ना साथ ’दाइ ट्याक्सी चाहिन्छ ?’ भन्दै एउटी करिब तीस–पैतीस वर्षकी महिला अगाडि देखा परिन् । मेरो समस्या – दाह्री काट्दा बीस बर्षकाले पनि ’सोल्टी’ भन्छन्, दाह्री पाल्दा पैतीस बर्षकाले पनि दाइ । कीर्तिपुरसम्मको भाडा उनले चार सय भनिन् मैले दुईसय पचास । तीन सयमा फाईनल भो ।
ट्याक्सी चढेपछि यत्तिकै चुपचाप बस्न मन लागेन । मैले लेडिज ड्राईभरलाई ट्याक्सी चलाउन कत्तिको गाह्रो छ ? यो काम गर्न थालेको कति भो ? कत्तिको कमाई हुन्छ ? जस्ता कुरा सोधेर कुरा सुरु गरें ।
कुरै गर्दै जाँदा थाहा पाएँ, उनी पहिले आफ्नै टेम्पो चलाउँदिरैछन्, अनि त्यो ट्याक्सी चाहिं उनका श्रीमानले । उनका श्रीमान नसाको रोगले थलिएछन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएछ । टेम्पो पनि बेच्नु परेछ । श्रीमान् थलिएपछि उनले चलाउने गरेको त्यहि भाडामा लिएको ट्याक्सी ती महिलाले चलाउन सुरु गरिछन् ।
‘के गर्नु, खानै परो । बुढोको औषधि नि गर्नुपरो । एउटी छोरी छ तेस्लाई नि पढाउनुपरो ।’ बाटोभरि उनले आफ्नो दुःख सुनाइन् ।
कीर्तिपुर पुगेपछि बचेको बृद्धाको चारसय भाडा उनलाई तिरें ।
‘दाइ, तीन सय भन्या हो नि ! सय फिर्ता लिनु ।’ मैले चार सय दिएको पैसा फिर्ता दिन खोजिन् ।
‘त्यो सय रुपैयाको छोरीलाई कपि किन्दिनु ।’ मैले भनें । उनको अनुहारमा मुस्कान देखियो । शायद अलिकति खुशी मिलेको थियो कि ?
मन फेरि आनन्दित भयो । कसैलाई थोरै भएपनि खुशी दिँदा बदलामा यति धेरै खुशी मिल्दो रहेछ ।
तिनै संगालिएका खुशीहरुलाई महशुस गर्दै सुतें, बिहान बिउँझिएपछि लाग्यो यति मिठो निद्रा शायद मैले कहिल्यै निदाएको थिइन ।
। सत्यघटनामा अाधारित लेख ।
Anurag