प्रोफाइल सफलताको कथा

नेपालका चर्चित व्यवसायी दीपक मलहोत्रा कश्मीरमा यसरी हराए

नेपालका चर्चित व्यवसायी दीपक मलहोत्रा कश्मीरमा यसरी हराए
 

दीपक मलहोत्रा नेपालका नामी व्यवसायी हुन् । विश्वभर लोकप्रिय रहेको सामसुङ मोबाइललाई आधिकारिक बिक्रेताका रुपमा नेपाल भित्र्याउने मलहोत्रा हुन् । मलहोत्रा अध्यक्ष रहेको अाईएमएस ग्रुपले कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको मोवाइललाई नेपालीमाझ चिनाएको हो ।

मलहोत्राले सन् १९९३ मा आईएमएस कम्पनी दर्ता गरेका थिए । हङकंङबाट विभिन्न मोटर तथा ईलेक्ट्रोनिक्स पार्टस ल्याएर उनी व्यापार गर्थे । सन् २००१ मा सामसुङ कम्पनीले मलहोत्राको आइएमएस कम्पनीलाई सामसुङको आधिकारिक विक्रेता नियुक्त गर्‍यो । नेपालमा आधिकारिक रुपमा मोबाईल भित्राउने र लाइसेन्स पाउने मलहोत्रा नै पहिलो नेपाली हुन् ।

नेपाली बजारमा सामसुङका टिभी, फ्रिज लगायतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु उपभोक्ताको रोजाईमा पर्ने गरेपनि मोबाइल भित्रिन भने लामो समय लाग्यो । किनकि, नेपालमा मोबाईल फोनको चलन धेरै पछि शुरु भएको थियो ।

नेपालमा सामसुङ मोबाईललाई लोकप्रिय बनाउन मलहोत्राको व्यापार रणनीतिले काम गरेको छ । ‘तपाईको रणनीति के ?’ प्रश्नको सरल जवाफ फर्काउँछन्, ‘नैतिक धरातल नभुली गरिने व्यवसाय ।’

मोवाइलदेखि मोटरसम्मको व्यवसायमा व्यस्त मलहोत्रा परिवारका लागि सकेसम्म धेरै समय दिइरहेको बताउँछन् । घुम्न रुचाउँने मलहोत्रासँग घुमफिरसँग जोडिएका कैयौँ किस्सा छन् जो आफैँमा कथानक छन् ।

विक्रम सम्वत् २०३४ सालमा मलहोत्राको क्याम्पस जीवन शुरु भएको थियो । काठमाडौँमा जन्मे हुर्केका उनले काश्मीरका बारेमा खुब सुनेका थिए । क्याम्पसका ६ जना साथीहरु मिलेर काश्मीर यात्रामा निस्किए । काश्मिर पुगेपछि मलहोत्रा आफन्त अमृत शर्माको घरमा बस्न गए ।

साथीहरु होटेलमै बसे । उनी साथीहरुले भनेको समयमा पुग्न सकेनन् । साथीहरुले बिहान अवेरसम्म कुरे, उनी पुगेनन् । ट्रेन छुट्ने भएपछि साथीहरुले उनलाई छोडेर गए ।

मलहोत्राले पैसा बोकेका थिएनन्, पैसा साथीसँग थियो । साथीहरु भेटिहालिन्छ भनेर आफन्तसँग १०० रुपैयाँ मागेर उनी यात्रामा निस्किए । दिनभरि डुल्ल्दा पनि साथीहरु भेटिएन । फोन गर्नलाई मोबाइल आइसकेको थिएन । एउटै सहरमा हुँदा पनि यताबाट त्यता र त्यताबाट यता भइरह्यो । १०० रुपैयाँकै भरमा उनी काश्मीरमा भौतारिरहे ।

deepak-malhotra-nepalaaja-2


सुत्न उनी होटेलमै सुते तर खाना चाहीँ खाएनन् । बाटोमा चटपट खाएर चित्त बुझाए । पैसा सकिने डर जो थियो । धन्न गर्मी महिना भएकाले काश्मिरको चिसोसँग डराउन परेन ।

काश्मिर शान्त थियो । अहिलेजस्तो द्वन्द्वमा फसेको थिएन । अत्यन्तै रमणीय काश्मीरमा पर्यटकको घुइँचो थियो । लालचोक, पहलगाम र डललेकको सौन्दर्यमा उनी लठ्ठीएका थिए । ती ठाऊँमा पुग्दा पैसा नभएर भुक्का भएको समेत उनले विर्सिए । दुःखले कश्मीर घुम्दाको आनन्द बेग्लै थियो, जुन आनन्द अहिले सुविधा सम्पन्न हिसावले यात्रा गर्दा पनि पाइन्न । उनी त्यो दिन सम्झर्दैँ चुक्चुकाउँछन् ।

काश्मीरबाट उनी अमृतसर फर्किए । अमृतसर आईपुग्दा साथीहरुसँग भेट भयो । साथीहरुले काश्मिर र वरपरका ठाऊँ सबै घुमिसकेका थिए । उनी भने सो अवसरबाट बञ्चित भए ।

त्यसपछि मलहोत्रा अहिलेसम्म काश्मीर पुगेका छैनन् । काश्मिर जाने योजनामा छन् उनी । ‘१७ वर्षको उमेरमा १०० रुपैयाँमा घुमेको ठाउ जानु पर्छ भन्ने मनमा लागेको छ । अब जाँदा परिवारहरुसँग जान्छु । दुई चार लाख खर्च हुन्छ होला । ’ उनी हास्दै किशोरवय र वर्तमानको तुलना गर्छन ।

मलहोत्राले काश्मीरमा यात्रामा धेरै घुम्न पाएनन् तर धेरै सिक्न पाए । उनले समयको महत्व बुझे । समयमा पुगेको भए साथीहरु छुट्टिदैनथे । उनले सम्र्पकको महत्व बुझे । यदि साथीहरुसँग समयमै सम्र्पक हुन सकेको भए लुकामारी हुँदैनथ्यो । अहिलेको जस्तो मो्बाइल र इन्टरनेट भइदिएको भए, के को पीर ? सायद त्यसैले पनि उनका लागि मोवाइल प्रिय छ ।

कश्मीरमा उनले कष्ट सहे तर अविस्मरणीय यात्रा गरे । संसार घुमेका मलहोत्राका लागि काश्मिरको जस्तो यादगर यात्रा अरु कुनै छैन ।


अाईएमएस दीपक मलहोत्रा सामसुङ मोबाइल

विशेष