अर्थ

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी
मंसिर–२२ । नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो । आर्थिक वर्ष २०५४-५५ देखि २०७२-७३ सम्म आइपुग्दा यस मार्गबाट रु ४२ अर्ब ६८ करोड ९७ लाख बराबरको विभिन्न मालसामानको व्यापार भएको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीका प्रमुख यादवप्रसाद सिवाकोटीले जानकारी दिए । उक्त अवधिमा नेपालले रु २७ अर्ब ८४ करोड ६४ लाख २० हजार बराबरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर रु १४ अर्ब ८४ करोड ३३ लाखको सामान आयात गरेको छ । काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ किलोेमिटरको दुरी पार गर्नुपर्छ । नेपालले बङ्गलादेशतर्फ जडीबुटी, फलफूल, दाल, गहुँलगायत डाबर नेपालका उत्पादन निर्यात गर्दै आएको छ भने उताबाट कटन बेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामललगायतका विभिन्न सामान आयात गर्दै आएको छ । दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको छ । नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडरस् संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहल न्यून भएको बताउँछन् । निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारी इच्छुक रहेको उनको भनाइ छ । रासस

काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्ग नेपाल बङ्गलादेश

विशेष