अपराध सुरक्षा समाज

भगवान नै खतरामा

भगवान नै खतरामा
मंसिर २३ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थलमा छ। गृह मन्त्रालयले घटनाका सम्बन्धमा चासोमात्र देखाएको छैन, प्रहरीलाई जतिसक्दो चाँडो घटनाको यथार्थ सार्वजनिक गर्न दबाब दिइरहेको छ। तालुकदार निकाय संस्कृति मन्त्रालय र पुरातत्व विभागले घटनाका सम्बन्धमा चासो देखाइरहेका छन्। जुम्लाबासी सडकमै ओर्लिएर चोरिएका मूर्ति खोज्न दबाब दिइरहेका छन् । जुम्लाको घटनाअघि डोल्पाको साल्दाङमा रहेको शे गुम्बाबाट पाँच थान प्राचीन बहुमूल्य मूर्ति चोरिएका थिए। उपल्लो डोल्पाली तथा डोल्पा आउने पर्यटकको गन्तव्यस्थल शे गुम्बामा भएको चोरी अनुसन्धानमा कुनै प्रगति हुन सकेको छैन। डोल्पाका प्राचीन गुम्बा र मन्दिरबाट दुई वर्षयता ३३ थान मूर्ति चोरी भएको तथ्यांक स्थानीय प्रशासनसँग छ। हुम्लाको बरगाउँमा रहेको तारकाखोर गुम्बामा २०६८ असोज १४ मा एउटा समूहले डकैती गरेर बहुमूल्य मूर्ति लगेको थियो। राति साढे १० बजे सातजनाको समूहले हातहतियार देखाएर सांगे मेन्ल्हा मूर्ति चोरी फरार रहेकोमा २०६९ जेठ ७ गते केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न कालु लामा भन्ने नरेन्द्र लामासहित १२ जनालाई पक्राउ गरेको थियो। यस्तै ललितपुरको पाटन चक्रवहिलमा रहेको देवदत्त विहारबाट २ सय वर्ष पुराना दुई मूर्ति चोरी भएका थिए। दुई महिनापछि चोर र मूर्ति दुवै प्रहरीले फेला पारेको थियो। प्रहरीको तथ्यांकले यस आर्थिक वर्षको मंसिरसम्म आठ थान मूर्ति चोरीका घटनामा मुद्दा चलेको देखाउँछ। यस्तै अघिल्लो आर्थिक वर्षमा आठ र आर्थिक वर्ष २०७०र७१ मा मूर्ति चोरीका १० थान मुद्दा प्रहरीले चलाएको थियो। प्रहरी तथ्यांक र घटनाक्रमले देशका विभिन्न स्थानमा रहेका बहुमूल्य, पुरातात्वक र प्राचीन मूर्ति, शिलालेख तथा स्मारक खतरामा रहेको संकेत देखिए पनि खतरा कसबाट? प्रहरी स्वयं अलमलमा छ। विश्वबजारमा लागूऔषध र हतियारपछि पुरातावक महवका वस्तुको अवैध कारोबार पर्छ। अन्तर्रा्ष्ट्रिय संघसंस्थाले विभिन्न समयमा गरेको अध्ययनले नाम चलेका संग्रहालय र धनाढ्यले अति दुर्लभ वस्तुको संग्रहलाई आफ्नो प्रतिष्ठासँग जोड्ने गरेको देखाएको छ। पुरातात्विक महत्वका  वस्तुको खानीका रुपमा विश्वमा परिचित नेपालबाट यस्ता वस्तु विश्वबजारमा पुग्ने गरेको इतिहास हामीसँग छ। संयुक्त राष्ट्रसंघको पहलमा प्राचीन वस्तुको संग्रह, किनबेच र ओसारपसारमा रोक लागेपछि विश्वबजारमा यसको मूल्य नभएको अनुमान गरिए पनि नेपालमा वर्षै्पिच्छे भइरहेका घटनाले प्राचीन मूर्ति खतरामा रहेको संकेत गरेको छ। ’पुरातात्विक वस्तु संकलनमा राष्ट्रसंघकै पहलमा विश्वमै रोक लगाएपछि यसका संकलनकर्ताले खरिद गर्न छाडेका छन् तर पनि समयसमयमा पुरातात्विक महत्वका मूर्ति चोरीका घटना भइरहेका छन,’ केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी नवराज सिलवाल भन्छन्। ’हामीले देशभर भएका घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेका छौं, स्थानीय प्रहरी पनि सक्रिय छ,’ उनले थपे। ब्युरोको टोलीले २०७१ वैशाख ७ मा ललितपुरका सुदनरत्न शाक्यलाई बहुमूल्य मूर्ति र कलात्मक टुँडालसहित पक्राउ गरेको थियो। बौद्ध धर्म ग्रन्थ र मूर्तिसहित पक्राउ परेका शाक्यको पेसा हस्तकला व्यापार थियो । त्यसअघि प्रहरीले विभिन्न समयमा प्राचीन र पुरातात्विक बुद्धमूर्तिसहित थुप्रैलाई पक्राउ गरे पनि उनीहरूबाट मूर्ति र मुख्य खरिदकर्ताका विषयमा केही खुल्न सकेको छैन। फरकफरक आवरणमा तस्करी अमेरिकाको लस एन्जलसका एकजना संकलनकर्ताले नेपालबाट विभिन्न समयमा चोरी भएका चार थान ऐतिहासिक मूर्ति फिर्ता गरे। यस्तै विश्वका विभिन्न देशका संग्रहालयमा अझै नेपाली मूर्तिले शोभा बढाइरहेका छन्। अन्तर्रा्ष्ट्रिय संघसंस्थाको प्रयासमा फिर्ता भएका नवौं शताब्दीको बुद्धमूर्ति, दसौं शताब्दीको विष्णुमूर्ति, १२औं शताब्दीको सरस्वती र चौधौं शताब्दीको सूर्यमूर्ति नेपालबाट तस्करी भएर अमेरिका पुगेका थिए। ’कूटनीतिक नियोग, वरिष्ठ सरकारी अधिकारी र सुरक्षा निकायकै समेत संलग्नतामा मूर्ति तस्करी हुने गर्छ, एउटा पुरातात्वीक मूर्तिको करोडौं नेपाली रुपैयाँमा कारोबार हुने भएकाले यसमा संलग्नको नाम सुन्दा पत्याउन कठिन छ,’ एक पूर्व प्रहरी महानिरीक्षकले भने। उनले आफू डिएसपी रहँदा एउटा मूर्ति चोरीको घटना अनुसन्धानमा शंकास्पद देखिएका व्यक्तिको नाम हटाउन आएको दबाब सुनाउँदै भने, ’नाम नलेख्नुहोला, एउटा समूहले अध्ययनका नाममा अन्तर्रा्ष्ट्रिय संग्रहालयका लागि मूर्ति तस्करी गर्ने गरेको छ। समाजमा प्रतिष्ठित व्यापारी र सुरक्षा अधिकारीसमेत यसमा संलग्न छन्।’ उनका अनुसार काठमाडौंबाट हराएका मूर्तिको अनुसन्धानमा फेला परेका तथ्य लुकाउन त्यस बेला गृह मन्त्रालय नै सक्रिय भएको थियो। नागरिक

murti

विशेष