अर्थ

अदुवा किसान सङ्कटमा

अदुवा किसान सङ्कटमा
मंसिर–२४ । पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका छन् । अहिले इटहरीका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले अदुवाख प्रतिकेजी ५० देखि ७० रुपैयाँमा बिक्री गरेका थिए । अहिले विचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किनिदिन छाडेकाले अदुवा किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् । विशेषगरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर जिल्लाबाट किसानले अधिकतम रुपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् । यसपटक भने उचित मूल्य नपाएपछि बजारमा भुक्तानी विनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुनसक्ने स्थिति देखापरेको छैन । रासस

अदुवा इटहरी

विशेष