अर्थ

मागअनुसार जुनार उत्पादन नहुँदा कारखाना जीर्ण

मागअनुसार जुनार उत्पादन नहुँदा कारखाना जीर्ण
मंसिर–२४ । झन्डै सात दशक पहिले सिन्धुलीको रतनचुरा गाविस– ५ का भोजराज शर्माले राणा प्रधानमन्त्री चन्द्रशंशेरलाई ज्यूनार गर्न (खान) दिएको फल जुनारले सिन्धुलीलाई चिनाएको भए पनि त्यहाँ स्थापना गरिएको जुनार जुस कारखाना अलपत्रमा परेको छ । नयाँदिल्लीबाट काठमाडौँ फर्कने क्रममा विसं २००० मा चन्द्रशंशेर सिन्धुलीको खनियाखर्कमा बास बसेका थिए । चन्द्रशंशेरका सुसारे भोजराज बरालले दिल्लीबाटै जुनार ल्याएर उनलाई खान दिएका थिए । फलको नाम थाहा नभएपछि ज्यूनारबाट अन्ततः उक्त फलको नाम जुनारमा परिणत भएको बरालले बताए । दुईवटा जुनारभित्रका सात दाना जमिनमा दलराखी तीन बिरुवाबाट सिन्धुलीमा जुनार खेती सुरु भएको इतिहास छ । जुनारखेतीका लागि उर्वर माटो भए पनि सिन्धुलीमा २०३२ सालबाट जुनार खेती गर्न थालेको पाइन्छ । तर राजमार्ग नबन्दासम्म सिन्धुलीवासीले न्यून मूल्यमा जुनार बिक्री गर्नुपरेको थियो । खनियाखर्कका जुनार व्यापारी चूडाराज शर्माका अनुसार हाल त्यहाँ ३३ वटा पसलबाट राजधानीलगायत आसपासका जिल्लामा जुनार बिक्री वितरण हुँदै आएको छ । बनेपादेखि बर्दिबाससम्मको कुल १५८ किमी मार्ग निर्माणपश्चात् जुनारको व्यावसायिक खेती सुरु भएको हो । विसं २०१६ मा विपी कोइरालाले उक्त राजमार्ग शिलान्यास गर्नुभएको भए पनि राजनीतिक गतिरोधका कारण सडक निर्माणले गति लिन सकेको थिएन । विसं २०४६ मा प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइरालाले सन् १९९६ मा धुलिखेलमा राजमार्गको शिलान्यास गरी काम अगाडि बढेको थियो । सरकारले सिन्धुलीलाई जुनारको पकेट क्षेत्रका रुपमा विकास गर्दै लगेको छ । किसानले उचित मूल्य पाउनुपर्ने माग बढ्दै गएपछि यहाँ करिब रु आठ करोडको लागतमा निर्माण भएको जुनार जुस कारखाना अहिलेसम्म पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारको रु तीन करोड ६५ लाख ४४ हजार तथा बाँकी सहकारी तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको लगानीमा सो कारखाना निर्माण भएको जुनार उत्पादक सहकारी सङ्घका अध्यक्ष निर्मलकुमार रम्तेलले जानकारी दिए । सो कारखाना पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच वर्ष कुर्नुपर्ने उनको भनाइ छ । प्रतिघन्टा ५०० लिटर जुस उत्पादन गर्ने क्षमता रहेको सो कारखाना सञ्चालनका लागि पर्याप्त जुनार उत्पादन नभएको रम्तेल बताउँछन् । सिन्धुलीका तीनकन्या, रतनचुरा, भूवनेश्वरी, बाशेश्वर, वितिजोर, जलकन्या, मजुवालगायत करिब ४५ गाविसमा तीन हजार ६१६ रोपनी जग्गामा जुनार खेती गरिन्छ । रु २१ करोडको जुनार यहाँ उत्पादन हुन्छ । हाल जिल्लाका चार हजार एक सय किसान ३४ साना सहकारी र ५६ वटा कृषक समूहमा आबद्ध भई जुनार उत्पादनमा संलग्न छन् । सरकारले आव २०६३-६४ को बजेट वक्तव्यमार्फत घोषण गरेको एक गाउँ एक उत्पादन (ओभिओपी) कार्यक्रमले सिन्धुलीलाई थप उत्साह प्रदान गरेको छ । उक्त कार्यक्रमको अनुशरण जापानबाट गरिएको हो । कार्यक्रम कार्यान्वयन सार्वजनिक, निजी र साझेदारी अवधारणाअनुरुप उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को सहकार्यमा कृषि उद्यम केन्द्र (केइसी) मार्फत देशको झन्डै ४६ जिल्लामा लागू भएको छ । कामको खोजीमा सिन्धुलीका युवा विदेश पलायन हुनु र सुखको खोजीमा गाउँका मानिस सहरमा बस्नुले गाउँका जमिन बाँझिनेक्रम बढ्दै गएका कारण कारखानालाई आवश्यक पर्ने जुनार उत्पादनमा ढिलाइ भएको एक गाउँ एक उत्पादन (ओभिओपी)का कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताए । सरकारी आँकडाअनुसार मुलुकभर हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । आव २०७३-७४ को बजेट वक्तव्यमार्फत सरकारले जमिन बाँझो राख्नेलाई औसत उत्पादनको २५ प्रतिशतसम्म जरिवाना लगाउने व्यवस्था लागू गर्ने हो भने सिन्धुलीमा जमिन बाँझो नहुने र कारखानालाई आवश्यक पर्ने जुनार उत्पादन हुने अनुमान गरिएको छ । रासस

जुनार सिन्धुली

विशेष