अर्थ

खाडो आयोजना र खोला तटबन्ध निर्माणका लागि रु साढे १४ करोड

खाडो आयोजना र खोला तटबन्ध निर्माणका लागि रु साढे १४ करोड
मंसिर - २४ । सिँचाइमन्त्री दीपक गिरीले जलउत्पन्न प्रकोप व्यवस्थापन विभागअन्तर्गत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको आज राजविराजमा उद्घाटन गरे । चन्द्रनहर कोसी पप्प सिँचाइ आयोजनाको कार्यालय हातामा स्थापित सो आयोजना सात वर्ष सञ्चालन अवधिको रहेको छ । सप्तरीको चुरे क्षेत्रको खाडो नदीको उद्गमस्थल फुटहिलदेखि नेपाल–भारत सीमा तिलाठी गाविससम्म उक्त नदीको दायाँ र बायाँ क्षेत्रमा करिब ३० किमी तटबन्ध निर्माण गर्ने कार्यक्रम पनि छ । खाडो आयोजना सञ्चालन तथा खाडो खोला तटबन्ध निर्माणका लागि चालु आव २०७३÷०७४ मा रु १४ करोड ५० लाख बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ । सो अवसरमा मन्त्री गिरीले आयोजनालाई बजेट, दक्ष जनशक्ति तथा पूर्वाधारको यथाशीघ्र व्यवस्था गरी छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिए । आयोजना सञ्चालन गरेर मात्र हुँदैन त्यसको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गिरीले जल उपभोक्ता संस्थाको गलत रबैयाका कारण सिँचाइको विकासमा समस्या परेको बताए । कोसी नदीको कटानबाट पीडित जनतालाई क्षतिपूर्ति दिलाउन आफू लाग्ने प्रतिबद्धता पनि उनले बक्त गरे । सांसद सुरेद्रप्रसाद यादवले सरकारतर्फबाट सिँचाइ क्षेत्रमा लगानी हुने बजेटमा व्यापक भ्रष्टाचार भएकाले त्यसमा सुधार्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय आयमा वृद्धि गर्न कृषि र सिँचाइ क्षेत्रमा लगानी आवश्यक रहेको बताए । सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले खाडो नदीबाट सप्तरी जिल्लाको दक्षिणी क्षेत्रका जनता पीडित भएकाले नदी नियन्त्रण भएमा नेपाल र भारतका जनतामा डुबान समस्या हट्ने विश्वास व्यक्त गरे । आयोजनाका प्रमुख अलाकसिद्धिकीको सभापतित्वमा भएको सो कार्यक्रममा चन्द्रनहर सिँचाइ व्यवस्थापनका प्रमुख प्रसुन्न मिश्रा तथा सप्तरी सिँचाइ डिभिजनका प्रमुख अशोक साहले खाडो र कोसी नदीका समस्याबारे बोलेका थिए । रासस

दीपक गिरी राजविराज सिँचाइमन्त्री

विशेष