यौनहिंसा पीडितलाई समाजमा फर्कनै मुस्किल
नुवाकोटकी सविता श्रेष्ठ (नाम परिवर्तन) २०७० सालमा आफ्नै दिदीका ससुराबाट बलात्कृत भइन् । त्यतिखेर उनी १७ वर्षकी थिइन् । गाउँका सम्भ्रान्त र राजनीतिक पहुँच भएका ती व्यक्तिविरुद्ध प्रहरीमा पुग्दासमेत उनले उल्टै धम्कीको सामना गर्नुर्पयो । ‘बाहिरै किन मिलापत्र गरिनौं भनेर हकारे । एक सातापछि उजुरी दर्ता गरियो, कानुनी कारबाही गरेको नाटक गरियो,’ श्रेष्ठले भनिन्, ‘अदालतबाट पनि मैले न्याय पाइनँ ।’ खेतीकिसानी गर्ने उनका एक दाइ र दिदी छन् भने दुई भाइ र एक बहिनी छन् ।
लगभग अढाई वर्षपछि जिल्ला अदालतले फैसला गरे पनि उनी सन्तुष्ट छैनन् । पुनरावेदन अदालत जाने तयारीमा रहेकी उनलाई आर्थिक समस्या त छँदै छ, समाजको व्यवहारले अझ पीडा थप्दै छ ।
‘गाउँका अन्य महिला पनि ती व्यक्तिका सिकार भएका रहेछन्,’ उनले भनिन्, ‘तर कोही पनि अगाडि आएनन्, मलाई साथ दिएनन् । उल्टो ती पीडितहरू पनि किन कुरा बाहिर ल्याएको भन्छन् । अहिले न गाउँ जान मन लाग्छ, न कसैलाई भेट्न नै ।’ समाजले स्वीकार नगरेकै कारण उनी एक्लो बाँच्दै छिन्, जहाँ उनलाई कसैले चिन्न नसकुन् । लगानी अभावमा उनले आफूले जानेको सिलाइकटाइको सीपसमेत सदुपयोग गर्न सकेकी छैनन् ।
सशस्त्र द्वन्द्वका बेला सप्तरीकी गौरी चौधरी (नाम परिवर्तन) लाई तत्कालीन शाही सेनाले माओवादीमा लागेको भनेर हिरासतमा लियो । ‘आँखामा पट्टी बाँधेर बुटले हिर्काउनेदेखि हातखुट्टाका नङहरू कुच्याउनेसम्म गर्थे,’ उनले सुनाइन्, ‘त्यो ३ महिनामा कतिपल्ट बलात्कृत भएँ हिसाबकिताबै छैन ।’ २०६१ सालमा उक्त घटना हुँदा उनकी छोरीले एसएलसी दिएकी थिइन् । उनले ८ वर्षपछि त्यस घटनाबारे छोरीलाई बताइन् । त्यहींबाट सुरु भयो अवहेलनाको शृंखला । छोरीका अगाडि ज्वाइँले उनलाई फोहोर शब्द प्रयोग गर्ने र हेप्ने गर्थे । आमालाई हरेक कुरामा छेड हान्न थालेपछि छोरीलाई असह्य भयो । हरेक कुरा आमासँग जोड्ने, गाली गरिरहने, बलात्कृतकी छोरी भनेर हेपिरहने भएकाले उनी आत्महत्या गर्न विवश भइन् ।
‘छोरीलाई नभनेको भए सायद मैले एक्लो सन्तान गुमाउनु पर्दैनथ्यो कि भन्ने लाग्छ,’ उनले भनिन् । अहिले उनी एक्लै छिन् । आफूलाई बलात्कार गर्नेमाथि कारबाही होस् भन्ने उनी चाहन्छिन् । गैरसरकारी संस्थाहरूको सहयोगमा विभिन्न मञ्चमा पुगेर उनले आफ्नो कथा पनि सुनाइन् । तर, केही पहल भएको छैन । सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गरेकी उनी घटनाको दशक नाघिसक्दा पनि न्याय पाउने आशामा छिन् । घटनाबारे छानबिन र अपराधीमाथि कारबाहीको माग गर्दै विभिन्न निकायसम्म पुगिसकेकी उनी घटनाबारे गाउँका मान्छेहरूले थाहा नपाऊन् भन्नेमा सचेत छिन् ।
श्रेष्ठ र चौधरी जस्तै यौनहिंसामा परेका अधिकांश महिला समाजमा खुलेर बाँच्न सकेका छैनन् । समाजले यौनहिंसामा परेकालाई अपनाउन नसक्नुले पीडितलाई थप मानसिक पीडा दिएको छ । श्रेष्ठ आफ्नो पढाइलाई निरन्तरता दिई सिलाइकटाइको सीप सदुपयोग गर्न चाहन्छिन् । परिवार पनि सक्दो सहयोग गर्न तयार छ । तर, घरबाहिर बसेर पढाइ खर्चसमेत व्यहोर्न आर्थिक अवस्थाले भ्याउँदैन । गाउँमै बसेर पढे समाजको कटाक्ष उनी र परिवारलाई सह्य हुन्न । मनोसामाजिक परामर्शदाता रुबिना केसी यौनहिंसा पीडितलाई समाजमा पुनस्स्थापना गराउनु चुनौतीपूर्ण रहेको बताउँछिन् । उनी भन्छिन्, ‘सहरमा बस्नेको परिवारले त ढिलोचाँडो कुरा बुझ्छन्, तर ग्रामीण भेगमा बस्नेलाई बुझाउन कठिन हुन्छ ।’
साथी संस्थाकी रणनीतिक निर्देशक वन्दना राणाको अनुभवमा हिंसापीडितलाई आत्मनिर्भर बनाउन लामो समय र लगानी चाहिन्छ । ‘त्यसका लागि दातालाई सहमत गराउनै मुस्किल पर्छ,’ उनी भन्छिन् । राज्यका निकायमा समेत पर्याप्त बजेट नहुँदा पनि पुनस्स्थापनामा कठिनाइ हुने महिला तथा बालबालिका कार्यालय काठमाडौंकी महिला विकास अधिकृत अनीता अधिकारीको भनाइ छ । ‘२५ जिल्लामा बेचबिखनमा परेका महिलालाई ४५ दिनसम्म राख्ने व्यवस्था छ । तर, कतिपय अवस्थामा ६ महिनासम्म पनि राख्नुपर्ने हुन्छ ।’
यौनहिंसा पीडितलाई भनेरै छुट्टै राहत कार्यक्रमको व्यवस्था जिल्लामा नरहे पनि विभिन्न गैरसरकारी संस्थालाई सिफारिस गरिन्छ । ‘तर अपांग र मानसिक अवस्था ठीक नभएकालाई राख्न त गैससले पनि मान्दैनन्,’ अधिकारीले भनिन् । नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७२र७३ मा महिला तथा बालबालिकासम्बन्धी घरेलु हिंसापछिको दोस्रो ठूलो अपराध करणी रहेको छ । गत वर्ष १ हजार ९० जना बलात्कृत भएका छन् । सबभन्दा बढी पूर्वाञ्चल विकास क्षेत्रका र जातिगत हिसाबमा जनजाति समुदायका धेरै महिला यौनहिंसाको सिकार भएको तथ्यांक प्रहरीको छ ।
कान्तिपुर
Hinsa