अपराध सुरक्षा

जोरपाटीमा ट्याक्सी चालकको हत्याः यौन उन्मादले लियो ज्यान

जोरपाटीमा ट्याक्सी चालकको हत्याः यौन उन्मादले लियो ज्यान
मंसिर – २९ । प्रहरीले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएका भनिएका ट्याक्सी चालकको हत्या भएको खुलेको छ । आइतबार विहान काठमाडौंको नयाँबस्तीका स्थानीयहरुले प्रहरी चौकीमा तोडफोड तथा आगजनी गरेका थिए । दोलखा घर भएका लामाको शनिबार राति भएको मृत्युलाई नयाँबस्ती प्रहरीले अध्याधिक मदिरा सेवनका कारण भन्यो । बाटोमा अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याएको थियो, तर उनको मृत्यु भइसकेको थियो ।
यौन उन्मादले ज्यान गयो समय साझको त्यस्तै साढे चार बजेको हुँदो हो । बा२ज २२३ नम्बरका ट्याक्सी ड्राइभर राजकुमार लामा काठमाडौँको गोकर्णेश्वर नगरपालिका, नयाँबस्तीस्थित हेलम्बु रेष्टुराँमा पुग्छन् । रेष्टुराँमा सोलुखुम्बु स्थायी ठेगना नयाँबस्तीमा रेस्टुराँ सञ्चालन गर्दै आएकी संगीता राईसँग भेट हुन्छ । उनले तुम्बाको अडर दिन्छन् । तुम्बा तान्ने क्रममा राजकुमारले होटलमा काम गर्ने युवती माया तामाङसँग चिनजान हुन्छ । काभ्रेको घर्तीछाप–७ स्थायी ठेगाना तामाङ उक्त रेष्टुराँ काम गर्दै आएकी हुन्छिन् । साधारण कुराकानीपछि तुम्बा तानेर बाहिरिएका राजकुमार साँझ ६ बजेतिर पुनः उक्त रेष्टुराँमा आउँछन् । साहुनी संगीता, माया र ट्याक्सी ड्राइभर लामा मिलेर रुस्लान भोड्का खान्छन् । त्यसपछि लामाले मायालाई दोहोरी जान प्रस्ताव गर्छन् । माया राजी भएपछि करिब साढे आठ बजेतिर लामाको आफ्नो ट्याक्सीमा हालेर गौरीघाटतिर लाग्छन् । तर, नयाँ बस्तीको एरिना फुटसल नजिकै पुग्दा ट्याक्सी खाल्डोमा फस्छ । दोहोरी नपुगी दुबै जना हेलम्बु रेष्टुँरा फर्किन्छिन् । उनीहरु रेष्टुराँ फर्किदा रातको साढे ११ बजिसकेको हुन्छ । त्यतिबेलासम्म सबैजना सुतिसकेका हुन्छन् । सबै सुतिसकेको मौका पारेर उनीहरुले शारीरिक सम्वन्ध राख्छन् । त्यही क्रममा पैसाको कुरामा उनीहरुबीच विवाद हुन्छ । लामाले पैसा दिइसकेको बताउँछन् तर मायाले आफूले नपाएको भएकाले कसलाई दिएको भनेर सोध्छिन् । लामाले जसलाई दिएको भएपनि दिएको छु भनेर टार्न खोज्छन् । यसै कुरालाई लिएर विवाद वढ्छ । लामाले पुनः शारीरिक सम्पर्क राख्न खोज्दा मायाले मान्दिनन् । लामा र मायाबीच धकेला धकेल हुन्छ । मायाले धकेल्दा रक्सीले मातेका ट्याक्सी चालक लामा भूईँमा लड्न पुग्छन् । रेष्टुँरा सञ्चालिका संगिताका भाइ मागधनले ईंटाले टाउकोमा प्रहार गर्छन् । माया र मागधनले राजकुमार लामालाई त्यसै छाडिदिन्छन् । त्यसपछि माया संगीताको कोठामा गई कपडा परिवर्तन गरी सुत्छिन् । तर, होटल सञ्चालिकाका छोरा अरुणले आमालाई भनेपछि संगिताले मानिस लडेको भनेर नयाँबस्ती प्रहरीलाई खबर गर्छिन् । प्रहरीले लामाका आफन्त बोलाइ उपचारका लागि बौद्ध स्तुफा अस्पताल ल्याउँछन् । स्तुफा अस्पतालले नसक्ने भनेपछि लामालाई नेपाल मेडिकल कलेज अत्तरखेल पठाइन्छ । घाइते लामालाई अस्पताल पुर्याएको केही समयपछि नै मृत घोषित गरिन्छ ।
होटलवालीलाई विश्वास गर्दा अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार नयाँबस्ती प्रहरीले होटल साहुनी संगीताले भनेको कुरा पत्याएर ट्याक्सी चालक लामाको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको घोषण गरिदियो । नयाँबस्ती प्रहरी चौकीमा कार्यरतहरु संगीताको रेष्टुँरामा बाक्लै आउजाउ गर्ने गरेकाले उनको कुरा पत्याएको देखिन्छ । अहिले भने प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माया, संगीता, मागधनका साथै संगीताका छोरा अरुण र बुहारी दिया माझी समेत रहेका छन् ।

जोरपाटी ट्याक्सी चालक

विशेष