अर्थ

अलैँची बिक्री नहुँदा किसान मारमा

अलैँची बिक्री नहुँदा किसान मारमा
मंसिर ३० । चौलाखर्क र गोली गाविसमा उत्पादन भएको अलैँची बिक्री हुन नसक्दा किसान मारमा परेका छन् । गत वर्ष किसानबाट खरिद गरेको अलैँची स्थानीय व्यापारीले अझै बिक्री गर्न सकेका छैनन् । स्थानीय व्यापारी डम्बरबहादुर बस्नेतका अनुसार पहिलाकै अलैँची मौज्दात भएका कारण यस वर्ष उत्पादन भएको अलैँची बिक्री हुन सकेको छैन । गत वर्ष ती गाविसमा ३२ हजार किलो अलैँची उत्पादन भएकामा यस वर्ष १५ हजार किलो मात्र उत्पादन भएको बस्नेतले बताए । गत वर्ष व्यापारीले किसानबाट प्रतिकिलो रु दुई हजार ३०० देखि रु दुई हजार ४०० सम्ममा खरिद गरेको अलैँची यस वर्ष मुश्किलले प्रतिकिलो रु एक हजारका दरले बिक्री भइरहेको छ । गत वर्ष मूल्य बढ्ने आशामा जेठ महिनासम्म अलैँची घरमै थन्काएर राखेका चौलाखर्कका अलैँची किसान सुरथबहादुर बस्नेत बताउँछन् । एक हजार र पाँच सयका भारतीय नोटको प्रतिबन्धपछि अलैँची किनबेचमा कमी आएको उनको भनाइ छ । “अलैँची बिक्री नहुँदा घरायसी आवश्यकता पूरा गर्न समस्या भएको छ,” बस्नेतले भने । चौलाखर्कमा अधिकांश किसानले धान फल्ने खेत मासेर अलैँची रोपेका थिए । खोल्सा खोल्सी र पानी लगाउन मिल्नेजति पाखा बारीमा पनि अलैँची खेती गरिएको छ । जिल्लाको गोली, गुदेल, बासालगायत गाविसमा पनि अलैँची खेती विस्तार हुँदै गएको छ ।

cardamom

विशेष