अर्थ कर्पोरेट

बैंकलाई ब्याजदर घटाउन ऊर्जामन्त्रीको आग्रह 

बैंकलाई ब्याजदर घटाउन ऊर्जामन्त्रीको आग्रह 
मंसिर - ३० । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ (अर्थात निजी क्षेत्रका कम्पनीले उत्पादन गरेको विद्युत् आवश्यक परे खरिद गर्ने नपरे नगर्ने व्यवस्था) हटाएर ‘टेक अर पे’ को सट्टा ‘टेक एन्ड पे’ (अर्थात उत्पादित विद्युत् प्राधिकरणले किन्नैपर्ने) को व्यवस्था गर्न लागिएको जानकारी दिए । सो प्रावधानबाट जलविद्युत् उत्पादनको क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना हुने स्पष्ट पार्दै मन्त्री शर्माले उत्पादित विद्युत् प्राधिकरणले नकिन्ने हो कि भन्ने त्रासबाट ऊर्जा उत्पादकमुक्त हुने र परिणामस्वरुप विद्यु्त् उत्पादनको कार्यले गतिलिने विश्वास व्यक्त गरे । ऊर्जा उत्पादक कम्पनीलाई प्रति मेगावाट ५० लाख रुपैयाँ भ्याट छुट दिइने जानकारी दिँदै मन्त्री शर्माले सो व्यवस्थाबाट ऊर्जा उत्पादकलाई निकै ठूलो राहत मिल्नेछ बताए।  सरकारले १०० मेगावाट भन्दा साना जलविद्युत् आयोजना बनाउने उल्लेख गर्दै उनले त्यस्ता आयोजना अगाडि बढाउन निजी क्षेत्रलाई अनुमति दिइने उल्लेख गरे । उनले मन्त्रालयको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारी स्वामित्वको जलविद्युत् उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीले पनि संस्थागत सेयर राख्न पाउने व्यवस्था गरिएको जानकारी गराए। आजबाट सुरु भएको समिटमा नेपाल, भारत, चीन बङ्गलादेश, नर्वे, अष्टेलियालगायत मुलुकका झण्डै ५ सय प्रतिनिधि सहभागी छन् । रासस

जनार्दन शर्मा

विशेष