अर्थ कर्पोरेट

व्यापार घाटा ९३ प्रतिशतले वृद्धि

व्यापार घाटा ९३ प्रतिशतले वृद्धि
मंसिर - ३० । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो । गत आव २०७२/७३ को प्रथम चार महिनाका अवधिमा उत्पन्न असहज परिस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापार घाटा पनि ३७.३ प्रतिशतले कमी आएको थियो । त्यसैगरी मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४।३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब २७ अर्ब ४६ करोड पुगेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७।५ प्रतिशत र ९२।५ प्रतिशत छ । समीक्षाावधिमा नेपालको कुल निकासी १३।२ प्रतिशतले वृद्धि भई रु २४ अर्ब ५८ करोड तथा कुल पैठारीमा ८२।३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब दुई अर्ब ८८ करोड पुगेको छ । सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । रासस

व्यापार घाटा

विशेष