अर्थ

आन्तरिक हवाई भाडा बढ्यो

पुस १ । निजी वायुसेवा सञ्चालक संघ (आयोन)ले पुस ४ गतेदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । आयोनको बिहीबार बसेको बैठकले हवाई यात्रुका लागि पुस ४ गतेदेखि लागू हुने गरी नयाँ भाडादर तय गरेको हो ।

सरकारले २४ प्रतिशत हवाई भाडा बढाउन स्वीकृति दिएको एक सातापछि आयोनले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

आयोनले काठमाडौं–विराटनगरको एकतर्फी भाडा ७ हजार रुपैयाँ तोकेको छ । यसअघि ५ हजार ५ सय ५५ रुपैयाँ थियो । त्यस्तैगरी काठमाडौ–भैरहवाको भाडादर ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । यसअघि भैरहवाको हवाई भाडा ४ हजार ८ सय ३० रुपैयाँ थियो ।

आन्तरिक उडानको सबैभन्दा लामो रुट धनगढीका लागि एकतर्फी भाडा १२ हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा नजिकको रुट सिमराका लागि २ हजार ८ सय ४५ रुपैयाँ भाडा तोकिएको छ । यसअघि सिमराको भाडा २ हजार ३ सय ५ रुपैयाँ थियो । यस्तै, विराटनगर–तुम्लिङटारको भाडादर ३ हजार ४ सय १० रुपैयाँ तोकिएको छ । यसअघि तुम्लिङटारको भाडादर २ हजार ६ सय ७० रुपैयाँ थियो ।

एयरलाइन्सहरूले आयोनले तोकेको भन्दा बढी भाडा लिन पाउने छैनन् । यसअघि ३ हजार ४ सय ७० रुपैयाँ भाडादर रहेको काठमाडौं–लुक्लाको नयाँ भाडादर ४ हजार ७ सय १५ रुपैयाँ तोकिएको छ । काठमाडौं–मेघौलीमा ३ हजार ७ सय ९५ रुपैयाँ तथा पोखरा–जोमसोममा २ हजार ७ सय ५० रुपैयाँ भाडा तोकिएको छ । यसअघि काठमाडौं–मेघौलीमा २ हजार ७ सय ९५ रुपैयाँ तथा पोखरा–जोमसोममा २ हजार २ सय २५ रुपैयाँ भाडा थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई भाडा पुनरावोलकन समितिले गत जेठमा १९ देखि ३९ प्रतिशतसम्म हवाई भाडा बढाउन प्रस्ताव गरेकामा पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठन गरेको उपसमितिले केही साताअघि २४ प्रतिशत हवाई भाडा बढाउन उपयुक्त हुने सुझाव दिएको थियो ।

कारोबार दैनिक

Airlaince Rate

विशेष