अपराध सुरक्षा

सन् २०१६ मा मोरङमा हत्या लगायतका घटनामा वृद्धिः इन्सेक

सन् २०१६ मा मोरङमा हत्या लगायतका घटनामा वृद्धिः इन्सेक
पुस - १ । मोरङमा सन् २०१५ को तुलनामा सन् २०१६ मा हत्या लगायतका घटनामा वृद्धि भएको छ। सन् २०१५ मा मोरङमा एक महिलासहित चारजनाको गैरराज्य पक्षबाट हत्या भएको थियो भने सन् २०१६ मा १६ जनाको हत्या भएको छ। सोमध्ये गैरराज्यपक्षबाट १० पुरुष र तीन महिला गरी १३ जना र राज्यपक्षबाट एक महिला गरी तीन जनाको हत्या भएको अनौपचारिक सेवा केन्द्रद्वारा आज विराटनगरमा नेपाल मानवअधिकार वर्ष पुस्तक– २०१७ को वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसका साथै मोरङमा सन् २०१६ मा मानवअधिकार हनन् र ज्यादतीका कूल गरी ९९ वटा घटना भएको हो। सोमध्ये राज्य पक्षबाटबाट तीन र गैरराज्य पक्षबाट ९६ वटा घटना इन्सेकले अभिलेखिकरण गरेको सो संस्थाका जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी गराइन्। त्यस्तै, घरेलु हिंसामा ५०, बलात्कारबाट सात, यौनजन्य दुव्र्यवहारबाट तीन, एक कुटपिट, एक बहुविवाह र एक बोक्सीको आरोप समेत गरी ६३ वटा महिलाका हिंसाका घटना भएको हो। सन् २०१५ मा १८३ महिलासहित २९९ जना पीडित भएका थिए। सोमध्ये राज्यपक्षबाट १२ महिला गरी १०४ जना र गैरराज्य पक्षबाट १७१ महिलासहित १९५ जना पीडित भएका थिए। सोही अवधिमा तीन बलात्कार, ६ बलात्कारका प्रयासका घटना भएको थियो। यस्तै, सन् २०१६ मा बालअधिकार हनन्का १६ वटा घटना सार्वजनिक भएकामा सबै घटनामा बालबालिका बलात्कारको घटनाबाट पीडित भएको इन्सेक प्रतिनिधि भट्टराईले जानकारी गराइन्। सन् २०१५ मा २९ वटा बालअधिकारका घटना सार्वजनिक भएकामा २१ वटा बलात्कारको घटना, ६ वटा बलात्कारको प्रयास, दुई बेचबिखन र दुई यौनदुव्र्यवहार पीडित भएको थियो । सो अवसरमा अनौपचारिक सेवा केन्द्रका पूर्वाञ्चल संयोजक सोमराज थापाले कार्यक्रमको अध्यक्षता गर्दै घटनाको प्रकृति हेर्दा युवाहरु आपराधिक मनोवृत्तिमा उन्मुख हुँदै गएको पाइनु चिन्ताजनक विषय रहेको जानकारी दिए। रासस

Insec Nepal मोरङ मोरङ र झापा

विशेष