महंगो रेस्टुरेन्टबाट उपभोक्ता लुट्न चन्द्रागिरि केबलकारले यात्रुलाई खाना लैजान दिँदैन
पुस–२ । सेवाग्राहीलाई खाना लैजान निषेध गरेको चन्द्रागिरि केबलकारले आफ्नो परिसरमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा बढी पैसा लिने गरेको छ । बोतलको २० रुपैयाँ पर्ने मिनिरल वाटरलाई परिसरको रेस्टुरेन्टमा ५० रुपैयाँ पर्छ । खाना सेट, फास्टफुड, खाजा लगायतको मूल्यसमेत निकै महँगो रहेको सेवाग्राहीको गुनासो छ ।
‘केवलकार चढ्दा घरबाट ल्याएको तातोपानीसमेत लान पाइँदैन थियो ।,’ दुईपटक केबलकार चढेका एक सेवाग्राहीले भने, ‘विरोध भएपछि अहिले पानी त लैजान दिन्छ । तर अन्य खानेकुरा लैजान पाइँदैन । परिसरमा पाइने खानाको मूल्य अत्याधिक महँगो छ ।’ कम्पनीका अनुसार नेपाली खाना (चिकेन बुफे) को ५ सय ६० रुपैयाँ पर्छ । चिकेन ममको २ सय ३५, चिकेन चाउमिनको २ सय २५, भेज मःम तथा चाउमिनलगायत नुडल्सको २ सय रुपैयाँ लिने गरेको छ ।
‘मन्दिर दर्शन गर्न आउनेलाई खाना ल्याउन नदिने तर रेस्टुरेन्टको मेन्यु महँगो पार्नुले व्यापारमा मनोमानी गर्न खोजेको देखिन्छ,’ अर्का एक सेवाग्राहीले भने,‘परिसरमा अरुलाई रेस्टुरेन्ट तथा स्टल राख्न दिइएको छैन । कम्पनीका मात्रै रहेछन् ।’ –कान्तिपुर दैनिकबाट