अर्थ

कालोधन लुकाउने भकारी बन्यो सहकारी

कालोधन लुकाउने भकारी बन्यो सहकारी

पुस–२ । सहकारीलाई ‘अवैध धन’ लुकाउने माध्यम बनाएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला सहकारीको कारोबार विवरण मागेको छ ।

आयोगले सहकारीमा अपारदर्शी कारोबार बढ्दै गएको, पछिल्लो समय यसलाई अवैध धन लुकाउने माध्यम बनाइएको आशंकामा कारोबारको विवरण माग गरेको हो ।

‘हिसाब चुस्तदुरुस्त नराख्ने र अपारदर्शी काम गर्ने ठूला सहकारीको कारोबार विवरण माग गरिएको छ,’ आयोगका प्रवक्ता गणेश कार्कीले शुक्रबार भने,‘पहिलो चरणमा वार्षिक १० करोडभन्दा बढी कारोबार गर्ने सबै सहकारीको विवरण मागिएको हो ।’

उनले सबै विवरण आएपछि अनुसन्धान सुरु हुने बताए । ‘अहिले नै कति पैसा राखिएको भन्न सकिएन । अनुसन्धानपछि अवैध रकम, राख्नेहरुको नाम र अपारदर्शी कारोबार गर्ने सबै विवरण खुल्नेछ’, कार्कीले भने ।

प्रवक्ता कार्कीले अवैध सम्पत्ति आर्जन गर्नेमाथि अख्तियारको निगरानी बढेपछि पछिल्लो समय कालोधन सहकारीमा राख्ने प्रवृत्ति बढेको सूचना आयोगमा आउने गरेको जानकारी दिए । –नागरिक दैनिकबाट

विशेष