अपराध सुरक्षा

वैदेशिक रोजगारको नाममा नेपाली महिला तस्करी गर्न नयाँ रुट

वैदेशिक रोजगारको नाममा नेपाली महिला तस्करी गर्न नयाँ रुट

मंसिर ४ । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ । सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो ।

तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो ।

ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताएका छन् ।

सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन् । सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ ।

एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन् । यो काम पहिलो भने होइन । उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन् ।

एसपी चौधरीका अनुसार पक्राउ परेका राजकुमार खरेलकी दिदी कुवेतमा बस्छिन् । उनले कुवेतमा कुरा गर्ने र युवतीहरूको ‘डिमान्ड’ पठाउने, त्यसपछि खरेलले युवतीलाई आकर्षक प्रलोभनमा पारेर सेटिङ गर्ने गरेका थिए ।

पक्राउ परेका पूर्णबहादुर लिम्बूले युवतीको कागजपत्र मिलाउने र हरिप्रसाद थारूले युवतीहरूलाई भारत लगेर तस्करको जिम्मा लगाउने र भारतमा भएका तस्करले दिल्ली, श्रीलंका हुँदै सम्बन्धित मुुलुकमा पठाउने गरेका थिए । उनीहरूले भैरहवाबाट दिल्लीसम्म लगेको प्रत्येक युवतीको ५ हजार रुपैयाँ कमिसन पाउने गरेका थिए । सो कमिसन पनि काठमाडौंबाट नै तय हुँदै आएको थियो ।

उनीहरूले पीडितको राहदानीलगायतका कागजातहरू सुरुमै काठमाडौंबाट दिल्ली कुरियर गरेर पठाउने गरेका थिए । त्यहाँबाट कागजात ठीक छ भनेर आएपछि युवतीहरूलाई काठमाडौंबाट भारतीय सीमा सुनौली बेलहिया नाका हुँदै भारतको दिल्लीसम्म लगी दिल्लीस्थित दलाललाई जिम्मा लगाउने गरेका थिए । दलालहरूले नयाँ दिल्लीमा कम्तीमा १६ दिन राखेपछि श्रीलंका लैजाने र त्यहाँ करिब २५ दिन राखी कुवेत पठाउने गरेका थिए । त्यहाँबाट फिर्ता भएको अवस्थामा पुनः दुबई हुँदै ओमान पठाएर काम लगाउने गरेका थिए ।

ब्युरोले दिएको जानकारीअनुसार महिलाहरूलाई भारतको इन्दिरा गान्धी विमानस्थलको क्लोज सर्किटबाटै श्रीलंका पठाउने गरेका छन् । उनीहरूले २० देखि ३१ वर्ष उमेर समूहका ती युवतीलाई आकर्षक तलब भएको प्रस्ताव गरेका माग पत्रसमेत देखाएर विश्वासमा पार्ने गरेका थिए ।

राजधानी दैनिक

Rojgar

विशेष